काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जीका नाममा प्रस्तुत भइरहेका मागपत्र र गतिविधिहरू सरकारकै पहलमा आयोजना भइरहेको दाबी गरेका छन् । उनले सरकारका व्यक्तिहरूले नै जेन-जी समूह परिचालन गरी मस्यौदा लेख्नेदेखि प्रदर्शन गराउनेसम्मको ‘तमासा’ चलाइरहेको आरोप लगाए ।
गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँगको भेटवार्तामा ओलीले भने, “यो सरकारले सुशासन भन्नु भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्नु हो भन्ने बुझिएको छ । त्यसकै लागि जेन-जीहरुलाई संगठित गर्ने, मागपत्र लेखिदिने, पढाइदिने र हातमा थमाइदिने नाटक हुँदैछ ।”
उनका अनुसार जेन-जी नाममा देखाइने धेरै गतिविधि योजनाबद्ध र पूर्वनियोजित छन् । “कलाविहीन नाटक भइरहेको छ, कसले मस्यौदा लेख्यो, कहाँ बोलाएर पढाइयो, आयोजक को हो—सब थाहा छ,” उनले भने, “बिना पैसा यस्ता तमासा हेर्न पाइएको छ ।”
प्रतिनिधिसभा विघटनबारे ओलीको टिप्पणी
ओलीले प्रतिनिधिसभा अविलम्ब पुनःस्थापना हुनुपर्ने भन्दै वर्तमान संसद् विघटन ‘असंवैधानिक’ र ‘अनधिकृत व्यक्तिको सिफारिसमा गरिएको निर्णय’ भएको दाबी गरे ।
उनले जेन-जीको नाममा १०–२० जना युवालाई उचालेर धम्कीपूर्ण गतिविधि गराइँदैछ भन्दै सरकार चुनावमा होइन, ‘ड्रामामा’ लागेको आरोप पनि लगाए ।
“उनीहरूमा आवेश छ, तर उद्देश्य, विचार र गन्तव्य छैन । सरकारले यिनै कुरालाई राजनीतिक नाटक बनाएर चलिरहेको छ,” ओलीले भने ।
निवर्तमान IGP खापुङबारे पनि सरकारप्रति आलोचना
निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको स्थानहद तोकिएको र पासपोर्ट रोक्का गरिएको चर्चाप्रति पनि ओलीले गम्भीर आपत्ति जनाए ।
“हिजोसम्म देशको शान्ति सुरक्षाको जिम्मेवारी लिने व्यक्ति आज कतै जान नपाउने अवस्था बनाइयो । यो सरकार कुन बाटो हिँड्न खोजेको हो ?” उनले प्रश्न उठाए ।
ओलीले आफू सत्यका लागि जीवनभर लडिरहने बताएका छन् । “यसलाई कसैले दम्भ भन्यो भने पनि कमिँदैन । देश बनाउनका लक्ष्य र प्रतिबद्धता घट्ने छैन,” उनले भने ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०८२