काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले पार्टीभित्र बढ्दै गएर रहेको मतभेद समाधान गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समन्वयकर्ताको जिम्मेवारी दिएको छ।
ललितपुरको धोबीघाटमा बिहीबार बसेको बैठकले पदाधिकारी तथा पदाधिकारीबाहिर रहेका शीर्ष नेताहरूसहित सबैसँग छलफल गरी समाधान खोज्ने काम खड्कालाई सुम्पिएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए।
खड्कासँगै उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि समन्वय तथा वार्तामा सक्रिय रहने राठौरले बताए। उनका अनुसार, ‘पूर्णदाइलाई मुख्य जिम्मेवारी दिइएको छ। उहाँसँग उपसभापति र दुवै महामन्त्री सहयोगी भूमिकामा रहनेछन्। पदाधिकारीबाहिर रहेका नेताहरूसँग पनि कुराकानी गरेर निकास खोजिनेछ।’
अब कार्यवाहक सभापति खड्का शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि सहितका नेतासँग भेटघाट तथा परामर्शमा जुट्नेछन्।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र तीव्र विवाद जारी छ। गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्षले नियमित महाधिवेशन नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएको छ। तर संस्थापन पक्ष भने वैशाखमा मात्रै महाधिवेशन गर्ने पक्षमा अडिग छ।
यही विवादका कारण शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि सहमति नजुटे सारिन सक्ने बैठक स्रोतले जनाएको छ।
उता, उपचारका लागि सिंगापुर गएका पार्टी सभापति शेरबहादुर देउवा आज फर्किँदै छन्। शीर्ष नेताहरू अब देउवाको पनि परामर्श लिएर मार्गनिर्देशन तय गर्ने तयारीमा छन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०८२