काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान नेपाल’ ले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको छ। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले नयाँ राजनीतिक संरचनाको खाका सार्वजनिक गरेको हो।
कार्यक्रममा अभियानका नेता सुदन किरातीले नेपालको परम्परागत राजनीतिक दलहरू जनविश्वास गुमाउँदै विघटनको अवस्थामा पुगेको दाबी गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याए। उनका अनुसार, ‘अबको चुनावमा जनताले अहंकारी र असफल नेताहरूलाई राजनीतिकरूपमा जवाफ दिनेछन्।’
किरातीले भने, ‘हामीले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य, पारदर्शिता र सम्पत्ति छानबिनको पहल गरेका थियौं। तर नेतृत्वले ती एजेन्डा बेवास्ता गर्यो। त्यसैले अब देशको समग्र राजनीतिक र आर्थिक संरचनाको पुनर्संरचनाका लागि स्वतन्त्र अभियान आवश्यक भएको छ।’
अभियानको केन्द्रीय संयोजन समितिमा सुदन किराती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत विक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।
अभियानले जारी गरेको ७ बुँदे अपीलमा भ्रष्टाचार उन्मूलन, युवापुस्ताको नेतृत्व स्थापन, लोकतान्त्रिक मूल्यको संस्थागत विकास, पारदर्शी शासन प्रणाली र जनजीविकाका सवालमा केन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
किरातीले अन्त्यमा भने, ‘अब समय आएको छ— दलदलमा फँसेको पुरानो राजनीतिक संस्कृतिलाई उखेलेर नयाँ, प्रगतिशील र उत्तरदायी शक्ति निर्माण गर्ने।’
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०८२