काठमाडौं ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २३ भदौमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई मानवढाल बनाएर देशमा हिंसा मच्चाउने प्रयास गरिएको आरोप लगाएका छन्।
दाङमा आयोजित एमालेको लुम्बिनी प्रदेशस्तरीय जागरण सभामा बोल्दै ज्ञवालीले निर्दोष विद्यार्थीहरूको भावना दुरुपयोग गरिएको दाबी गरे। उनका अनुसार, शान्तिपूर्ण आन्दोलनका नाममा केही घुसपैठियाले विद्यार्थीलाई उक्साएर संसद् भवन भत्काउने र सुरक्षा पोष्ट कब्जा गर्न लगाएका थिए।
‘हामीलाई प्रश्न छ— ती घुसपैठियाहरू को थिए जसले पवित्र मनका विद्यार्थीलाई मानवढाल बनाएर हिंसा फैलाउने काम गरे?’ ज्ञवालीले भने, ‘ती विद्यार्थीहरू त शान्तिपूर्ण आन्दोलनका पक्षमा थिए। उनीहरूले भनेका थिए— हामी रुखको हाँगा पनि भाँच्दैनौं, फूलका बेर्ना पनि मास्दैनौं, दुवो पनि मिच्दैनौं।’
ज्ञवालीले संसद भवनतर्फ हुल्ने र पर्खाल भत्काउने गतिविधिपछि एक दु:खान्त घटना घटेको उल्लेख गर्दै यस्तो घटनाबाट सबै पक्षले शिक्षा लिनुपर्ने बताए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०८२