काठमाडौ । मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा समाहित भएका छन्। बुधबार पार्टी नेतृत्वसँग ७ बुँदे सहमति गरेर रावलले प्रचण्ड नेतृत्वको पार्टीमा प्रवेश गरेका हुन्।
सहमति अनुसार रावलको पार्टीभित्र वरीयता छैटौँ रहनेछ। उक्त सहमति पत्रमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र डा. रावलले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा देश वर्तमानमा जटिल र विषम परिस्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वाभिमानको रक्षा तथा देश र जनताको समृद्धिको दिशामा सामूहिक प्रयास आवश्यक रहेको जनाइएको छ।
‘देशभक्ति र समाजवादको आदर्शमा आधारित सशक्त तथा सुदृढ पार्टी निर्माण गर्ने उद्देश्यका साथ मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टीबीच निम्न सहमतिहरू भएका छन्,’ सहमति पत्रमा भनिएको छ।
सात बुँदे सहमति यसप्रकार छन् :
१. नेपाल र नेपाली जनताको सर्वोच्च हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेपमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने।
२. समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिका लागि प्रतिबद्ध रहने।
३. आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले छिट्टै निर्धारण गर्ने र मातृभूमि जागरण अभियानमा क्रियाशील कार्यकर्तालाई पारस्परिक सहमतिमा पार्टीमा समायोजन गर्ने।
४. डा. भीम रावलको जिम्मेवारी लगायतका विषय आपसी सहमतिबाट टुंगो लगाउने।
५. पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम संयुक्त रूपमा तयार गर्ने।
६. पार्टी सञ्चालन लोकतान्त्रिक पद्धति, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुने।
७. पार्टी एकीकरण प्रक्रिया सुदृढ बनाउन आवश्यकता अनुसार विभिन्न तहमा कार्यदल गठन गर्ने।
यस सहमतिपछि डा. भीम रावलको औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा पुनः प्रवेशले पार्टीभित्र नयाँ शक्ति सन्तुलन र राजनीतिक सक्रियता बढाउने अनुमान गरिएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०८२