काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। कवीर सोपको अध्यक्षतामा रहेको यस पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि निवेदन दिएको थियो। आयोगले प्रक्रिया पूरा गर्दै पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ‘जाँतो’ तोकिएको छ। यो दर्तासँगै जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दलका रूपमा दर्ता हुने दलको संख्या पाँच पुगेको छ।
यसअघि हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र सीके राउतको जनमत पार्टीबाट छुट्टिएको जनस्वराज पार्टी पनि दर्ता भइसकेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म देशभर १२६ राजनीतिक दल दर्ता भइसकेका छन् भने २९ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०८२