काठमाडौं ।ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न ‘उज्यालो नेपाल पार्टी’ले निर्वाचन आयोगमा आफ्नो पार्टी विधान र ५१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेको छ। पार्टी निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका जितराम लामाका अनुसार, उज्यालो नेपाल पार्टी यसअघि नै आयोगमा दर्ता भइसकेको थियो, र आज विधान तथा केन्द्रीय कमिटी थप गर्ने प्रक्रिया पूरा गरिएको हो।
लामाका अनुसार, केन्द्रीय कमिटीमा विवेकशील साझा पार्टी छाडेका नेतादेखि पहिचानवादी आन्दोलनमा सक्रिय व्यक्ति सम्मको समावेश छ। साथै, काठमाडौंका मेयर बालेन साहको प्रतिनिधित्व गर्ने केही व्यक्तिहरू पनि कमिटीमा समावेश गरिएको दाबी गरिएको छ। यद्यपि, ती प्रतिनिधिहरूको नाम खुलाइएको छैन।
पार्टीको अध्यक्षका रूपमा कैलालीका इन्जिनियर अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ। अन्य ५० सदस्यमा डा. अभिषेकराज सिंह, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, ई. दिपेन्द्र जम्मकट्टेल, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिं थेगिम, जितराम लामा, अरविन्द शाह र निर्देश सिलवाल लगायत छन्।
सूचीमा रहेका डकेन्द्र सिं थेगिम इलाम उपनिर्वाचनमा ‘मुढा’ चुनावचिन्ह लिएर उम्मेदवार बनेका पहिचानवादी नेता हुन्। विवेकशील साझा पार्टीमा आबद्ध रहेर पछि पार्टी छाडेका निर्देश सिलवाल पनि कमिटीमा छन्।
डा. अभिषेकराज सिंह डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनका सहयात्री हुन्, र उनी नेपाल क्रिकेट संघका खेलाडीहरूको चिकित्सकका रूपमा पनि परिचित छन्।
त्यस्तै, डा. सागर ढकाल वातावरणविद् तथा प्राध्यापक हुन्, भने महेन्द्रसुन्दर लावती पहिचानवादी आन्दोलनका सक्रिय नेता हुन्।
पूर्व एमाले पृष्ठभूमिका जितराम लामा अघिल्लो स्थानीय निर्वाचनमा काभ्रेको चौरीदेउराली गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका थिए। उनी ‘उज्यालो नेपाल अभियान’सँग सुरुदेखि नै सक्रिय छन्।
उज्यालो नेपाल पार्टीले विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई एकीकृत गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने तयारी गरेको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०८२