काठमाडाैं । पूर्व भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले धनुषामा भएकाे बम विस्फोटमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार उनीहरूकाे अन्तिम संस्कारमा उपस्थित हुँदै पूर्वमन्त्री महासेठले श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् ।
सामाजिक सञ्जालमा पाेस्ट गर्दै उनले घटनाले आफूलाई स्तब्ध तुल्याएकाे बताएका छन् । उनले लेखेका छन्, धनुषा महेन्द्रनगरमा गएराति भएको बम बिसफोटमा परी धनुषा महेन्द्रनगर ५ का राजेश साह, आनन्दकुमार साह एवम् प्रहरी निरीक्षक अमिर दाहालको निधनले मलाई अत्यन्त दुःखी तुल्याएको छ । यो दु:खद क्षणमा मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति भएको बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।
विस्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुवा भिखारी साह तथा प्रहरीजवान रिजनाथकुमार महतो घाइते भएका छन् ।



प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६