इटहरी । ११ बुँदे इटहरी घोषणापत्र जारी गर्दै लैंगिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ ।
इटहरी उपमहानगरको आयोजनामा ३ सयभन्दा बढीको सहभागितामा भएको इटहरी सम्मेलनले १ वर्षका लागि लैंगिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको छ । गत वर्षभर भएका कार्यक्रमको समीक्षा गर्दै १ वर्षका लागि लैंगिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको हो ।
इटहरी क्षेत्रमा समानुपातिक, समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासका लागि विशेष योजना बनाउने, समान कामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांगमैत्री बनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैंगिक हिंसा अन्त्य गर्ने घोषणा पत्रमा जनाइएको छ ।
यसैगरी महिलासँग जोडिएका अन्य भेदभाव र अपमान जस्ता विभेद, बालबालिका र जेष्ठ नागरिकका विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव न्यूनीकरण गर्र्ने, नगरपालिकाले पु¥याउने सेवामा सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुसारको कार्य भोलिदेखि नै सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जनाइन् । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६