चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड शकुक्रबारदेखि दैनिक ४ घन्टा बन्द हुने भएको छ ।
पहिरो रोकथामको काम गर्न २ साताका लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी २ साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीलाई १५ किलोमा र मालबाहक सवारीलाई दासढुंगामा रोकिने छ । त्यस्तै काठमाडौंबाट नारायणगढ जाने यात्रुबाहक सवारीलाई मुग्लिङमा र मालबाहक सवारीलाई लेवाटारमा रोकिने जनाइएको छ ।
त्यस्तै पोखरातर्फबाट आउने यात्रुबाहक सवारीलाई बेनिटार र मालबाहक सवारीलाई आबुखैरेनीमा रोकिने प्रहरीले जनाएको छ ।
सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६