हेटाैंडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी २ ठाउँमा गएराति सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।
त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा १ महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।
सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिस गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६