काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार फुटबलको फाइनल खेल हेर्न पुगेका समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेकाे छ ।
फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । इसेवा मार्फत टिकट बिक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । खेल हेर्न टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो।
लाठीचार्ज गर्ने क्रममा समाचार संकलनका लाग पुगेका पत्रकार सुमन चापागाईंमाथि समेत कुटपिट भएकाे छ । नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंलाई प्रहरीले मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा कुटपिट गरी घाइते बनाएको हो। प्रहरीको कुटपिट भएका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरे । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६