कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि कोहलपुर तनावपूर्ण भएको छ ।
कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि स्थानियले टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
उक्त ट्रकमा विद्यार्थीहरुले आगो लगाइदिएका छन् । आक्रोशित स्थानिय समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।
(नाेट : गलत सूचनाका कारण यसअघि बालिकाकाे मृत्यु भनेर समाचार प्रकाशित भएकाेमा क्षमायाचनासहित सच्याइएकाे छ । - सम्पादक)
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६