काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी नचलाउन महाशाखाले सूचना जारी गरी जनाएको छ ।
म्याराथन दौड शनिबार बिहान ७ बजे दशरथ रंगशालाबाट सुरु भई टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः फर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुने छ ।
उक्त दौडको समयमा सडकमा अत्यावश्यक बाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
यस्तै महाशाखाले शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म कलंकीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलंकी कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
महाशाखाका प्रमुख ढकालले कलंकीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६