भरतपुर: तराई र पहाड भूभागको समिश्रण रहेको चितवनमा मौसममा विविधता भएकै कारण यहाँ सबै खालका खाद्यान्न, फलफूल तथा उत्पादन हुने गरेको छ । चिसो र तातो दुवै ठाउँमा खाद्य पदार्थ यहाँ सहजरुपमा उत्पादन हुने भएकाले चितवनमा स्याउदेखि आँपसम्मका फलफूल खेती गरिएको छ । मकै कोदोदेखि तोरी फापरसम्मका खाद्यबाली यहाँ उत्पादन हुनाका साथै नयाँ–नयाँ खेतीसमेत परीक्षण हुँदै आएको छ । पछिल्लो प्रयोगले जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अलैँची खेतीको राम्रो सम्भावना देखिएको छ । अध्ययन, अनुसन्धान र त्यसको सफलतापछि इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पहिलोपटक अलैँचीखेती शुरु गरिएको हो ।
सुनाखरी कृषक समूहमार्फत स्थानीय २० घर परिवारले छ हजार बिरुवा रोपेर अलैँची खेती शुरु गरेका छन् । परीक्षणका लागि लगाइएको खेती राम्रो हुँदै गएकाले व्यावसायिकरुपमै अलैँचीँ खेतीको सम्भावना देखिएको हो । उक्त व्यवसायलाई स्थापित गराउन र प्रवद्र्धन गर्न स्थायीन सहयोग आवश्यक रहेको कृषक प्रकाश बुढाथोकीले बताए । शुरुमा परीक्षणको रुपमा लगायौँ, अहिले राम्रो उत्पादन हुने देखिएको छ, यसमा सरकारी निकायको सहयोग आवश्यक छ । उनले भने ।
सबै किसान व्यावसायिकरुपमै अलैँचीखेती गर्न तयार रहेको भन्दै उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । अलैँची खेतीको राम्रो सम्भावना देखिएपछि उक्त गाउँपालिकाले पनि यसलाई प्राथमिकतामा राखी किसानलाई अलैँचीको बिरुवा वितरण गर्ने भएको छ। यसका लागि किसानलाई आवेदन दिन आह्वान गरिएको गाउँपालिकाका नायब प्राविधिक सहायक माधुरी थापाले जानकारी दिए । किसानका लागि सूचना जारी गरेका छौँ, उनले भने , सबै आवेदन सङ्कलन भएपछि मागबमोजिम बिरुवा वितरण गर्छौं । गत वर्ष पनि गाउँपालिकाले १० हजार अलैँचीको बिरुवा वितरण गरेको थियो । अलैँचीखेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको र व्यवसायीकरण गर्न प्रयत्न गरिरहेको प्राविधिक थापाले बताए ।
हाल उक्त गाउँपालिकाको वडा नंं १ र २ मा अलैँचीखेती भइरहेको छ । यससँगै वडा नं ६ का किसानले पनि अलैँची खेतीका लागि बिरुवा माग गरेको उनले जानकारी दिए । कम्तीमा १० हेक्टर क्षेत्रफलमा अलैँचीखेती पु¥याउने लक्ष्य छ, सोबमोजिम खेती भयो भने हामी पकेट क्षेत्र नै बनाउने योजनामा छौ , थापाले भने । काउलेसँगै दाहाखानीमा पनि अलैँचीखेतीको सम्भावना देखिएको छ । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत धनबहादुर थापाले अलैँची खेती हुने ठाउँमा पहाडी क्षेत्रमा प्रशस्तै रहेकाले यसलाई व्यावसायिकरुपमा लैजान सकिने बताए ।-- रासस
प्रकाशित मिति: बुधबार, असार ४, २०७६