लामो समयदेखिको राजनीतिक अस्थिरता, द्वन्द र अशान्तिको अन्त्य गर्दै संघीय शासन प्रणाली लागु भएको छ देशमा । यससँगै स्थिर राजनीति र विकासतर्फ लम्किरहेको देश नेपालले वर्ष २०२० लाई ‘भिजिट नेपाल २०२०’ का रुपमा मनाउने निर्णय गरेको छ । धेरैभन्दा धेरै विदेशी पर्यटकहरू देशमा भित्राई देशलाई उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विश्वमा चिनाउने यस अभियानलाई नेपाल पर्यटन बोर्डले सन् २०१५ मा घोषणा गरेको थियो ।
जसअनुसार वर्ष २०१८ लाई ‘भिजिट नेपाल वर्ष २०१८’ का रुपमा मनाउने योजना थियो । तर,सन् २०१५मा गएको विनासकारी भूकम्पले भत्काएका राष्ट्रिय सम्पदाहरूको पुनर्निर्माणमा भएको ढिलासुस्ती, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा भएको ढिलाइ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको ढिलासुस्ती आदिका कारण यो अभियानलाई २०१८ मा स्थगित गरी २०२० मा मनाउने निर्णय गरियो । अभियानको लक्ष्य सन् २०२० मा २० लाख भन्दा बढी विदेशी पर्यटकलाई देशमा आगमन गराउने छ ।
आहा ! मनमोहक नेपाल, जताततै सुन्दरता
प्राकृतिक सुन्दरता, साँस्कृतिक सम्पदा र जैविक विविधतामा धनी देश नेपाल बिश्वकै उत्कृष्ट नमुना हो । पर्यटकीय गन्तव्यका आधारमा विश्वका उत्कृष्ट देशहरूमध्ये नेपाल पाँचौँ स्थानमा पर्दछ्र । विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सबैभन्दा गहिरो गल्छी अन्ध गल्छी मात्र होइन नेपालमा शान्ति झल्काउने स्वयम्भु, जादुमयी जनकपुर, राम्रो रारा, मनमोहक मुस्ताङ्, अविस्मरणीय अन्नपुर्ण आदि पनि छन् । जसले लाखौँ पर्यटकलाई मन्त्रमुघ्ध पार्न सक्छन । मनै लोभ्याउने चम्किला हिमालहरू, शितलता दिने पहाड अनि न्यानोपन प्रदान गर्ने तराईका फाँटहरू, नेपालका अमुल्य गहना हुन् । सौन्दर्य र संस्कृतिका खानी नेपालमा पर्यटनको अथाह सम्भावना छ ।

अविकसित राष्ट्रहरूको सुचीबाट नाम हटाई अल्पविकसित राष्ट्रहरूको सुचीमा आफ्नो नाम अटाउन अथाह प्रयास गरिरहेको नेपालाई पर्यटनले टेवा अबश्य नै पुराउने छ्र । मिजासिलो स्वभाब, हँसिलो मुहार र मिठो बोलिका धनी नेपालीहरूले यहाँ आउने हरेक पर्यटक हरूलाई न्यानो स्वागत गर्ने कारणले नै देश आउने पर्यटकको संख्या बढ्दो छ । ५ लाख भन्दा बढी बिदेशी पर्यटक देशमा भित्राउने लक्ष्य सहित सन् १९९८ को अभियान ’भिजिट नेपाल वर्ष १९९८ ’ ले तब सार्थकता पायो जब विश्वका ४,६३,६८४ बिदेशी पर्यटक ले नेपालको सुन्दरता महसुस गरे । लक्ष्यको निकै नजिक पुगेको उत्साहित नेपालले पुन सन् २०११ लाइ पर्यटनमुखी बनाउने उदेश्य राखी ’पर्यटन वर्ष २०११’ घोषणा गर्यो जसको लक्ष्य भनेको १० लाख भन्दा बढी बिदेशी पर्यटकलाई देशमा स्वागत गर्ने रहेको थियो । राजनीतिक अस्थिरताको चरम बिन्दुमा पुगेको सो बर्षको १० लाख पर्यटक भित्राउने लक्ष्य मात्र ७,३६,२१५ मा सिमित रहेको थियो ।
सरल भिसा प्रक्रिया र सस्तो जिबिकोपार्जन भएको नेपाललाई एक अनुसन्धानले दक्षिण पूर्व एसिया कै सबै भन्दा सुरक्षित गन्तब्य भनि तोकेको छ । तर, २०१५ मा गएको विनासकारी भूकम्पका कारण २०१६ मा पर्यटकको संख्या ५० प्रतिशत भन्दा बढीले घटेको थियो । २०१७ मा सो आंकडामा सुधार भई ९,४०,२१८ पर्यटकले नेपालको अवलोकन गरेका थिए र २०१८ मा नेपाल आउने पर्यटकको संख्या १० लाख भन्दा बढी छ ।

यी चुनौती छन्, ध्यान दिऔं
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरि पूर्वाधार विकास र अन्य पर्यटनमुखी कार्यकमहरूका निम्ति भनि ५.२ अर्ब बजेट विनियोजन गरेको छ । ठूलो बजेट बिनियोजन मात्र गरेर यो महाअभियानले सार्थकता पाउँछ भन्नु बिउ बिना नै बारीमा सिञ्चाई गरेर मकै फल्छ भन्नु जस्तै हो । वर्ष २०२० नजिकै आइसक्यो तर तिनवटै अन्तराष्ट्रिय विमानस्थलको निर्माण र मर्मतमा सरकारले कुनै हतार गरेको देखिन्न । हवाई सुरक्षा का निम्ति भनि सरकारले कुनै ठोस कार्यकम हरूमा जोड दिएको देखिएको छैन । रारा, पाथिभारा, स्वर्गदारी, मुस्तांग, जुम्ला तातोपानी, पाल्पा रानीमहल आदि पुग्ने बाटोको सुधार गर्ने कुरा त टाढै रखिदिउ, देशको केन्द्रिय राजधानीको बाटोमा भएका खाल्डा खुल्डि, दिक्क लाग्ने ट्राफिक जाम, टाउको दुख्ने धुवाँधुलो, बढ्दो प्रदुषणको सुधारमा पनि कुनै आशलाग्दो योजना ल्याएको देखिदैन ।
देशमा भएका विभिन्न पर्यटकीय स्थलहरूबारे सामाजिक संजाल एबम अन्य प्रबिधिको प्रयोग गरि बिश्व लाई जानकारी दिने कुरा पनि नेपाल अलिक पछाडी नै देखिन्छ । हरेक स्तरमा बढ्दो महंगी र बढ्दो कर दरले पनि पर्यटन व्यवसायमा लाग्नेलाई निरुत्सााहित गरेको देखिन्छ । बलात्कार, चोरी, डकैती, अपहरण, हत्या, आदि जस्ता बढ्दो सामाजिक अपराधले गर्दा पनि पर्यटकहरू नेपाल आउन हिच्किचाउन सक्छन् । त्यसैले देशको सुरक्षा अबस्थामा सुधार गर्नुपर्ने पनि प्रमुख चुनौती को रुपमा रहेको छ । देशका दुर्गम भेग र हरेक कुनामा बिजुलीबत्ती, सफा पिउने पानी, इन्टरनेट, बाटो आदिजस्ता पुर्बाधार पुर्याउने चुनौती पनि सरकारका सामुन्ने रहेको छ ।
असम्भव छैन २० लाखको लक्ष्य

पूर्वाधार विकासमा जोड दिदै देशका सुन्दर पर्यटकीयस्थलबारे विश्वलाई जानकारी दिन सकियो भने २० लाखको लक्ष्य पुरा हुन कति पनि असम्भब देखिँदैन । अब घोषणा हुन लागेको २०७६/०७७ को बजेटमा पनि यस्ता योजनाहरू उल्लेख गर्न जरुरी छ । यस ब्यबसाय मा आउन चाहने ब्यबसायी र व्यक्तिहरूलाई उचित तालिम र ज्ञान दिदै अघि बढियो भने अरबौको राजस्व देशमा भित्रिने र रोजगारीको अबस्थामा सुधार हुने कुरामा दुई मत छैन । लाखौँ पर्यटकहरूलाई न्यानो आतिथ्य प्रदान गर्दै देश विकासमा इट्टा थप्नका निम्ति सरकार र नेपाली जनता दुवै मिलेर लाग्नु र जुट्नु आजको आवश्कता रहेको छ । ताकी विश्वका हरेक मान्छेलाई धर्तिको स्वर्ग के हो ? भनि सोध्दा उत्तर नेपाल भन्ने आओस ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६