बर्ड फ्लु भन्नाले एभियन इन्फ्लुएन्जा वा एभियन फ्लु भन्ने बुझिन्छ । यो रोग चराका प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लु नै भनिन्छ । बर्ड फ्लुमा एचफाइभएनवान् नामक भाइरस हुने गर्दछ ।
मानिसमा यो रोग सर्ने प्रमुख कारक भनेको यो रोगबाट संक्रमित कुखुरा हो । हाँस तथा अन्य रोगी पक्षीबाट पनि यो रोग सर्ने सम्भावना हुन्छ । यो रोग लागेका पक्षीको मासु, रगत, प्वाँख, सिँगान, ¥याल, सुली, अण्डाको सम्पर्कबाट वा नजिकैको हावामा उडिरहेका ससाना पानीका कणहरूको सम्पर्कबाट यो रोग सर्छ ।
मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसको संक्रमण भएपछि निम्न प्रकारका लक्षणहरू देखिने गर्छन्ः
खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जाडो लाग्ने, हाछ्युँ आउने, मांसपेशीमा पीडा हुने, नाकबाट पानी बग्ने वा नाक थुनिने आदि ।
यो रोगबाट बच्नका निम्ति निम्न सावधानीहरू अपनाउन जरुरी छ । खाना खानुभन्दा अगाडि साबुनपानीले राम्ररी हात धुने, घर, छिमेकमा कुखुरा तथा पक्षीहरू मरेको देखेमा तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गर्ने र आफूले ती मरेका पक्षीलाई छुने चलाउने काम नगर्ने । यदि नजिक जानुपरेमा मास्क लगाएर जाने ।
हाँस, टर्की तथा अन्य जंगली पक्षीहरूमा पनि यो भाइरस पाइने हुनाले आफू तथा आफ्ना बालबालिकालाई पनि त्यस्ता पक्षीहरूको छेउछाउमा जान नदिने ।
कुखुराको मासु, अण्डा खानुपरेमा राम्ररी धोइपखाली गरी राम्ररी पकाएर मात्रै खाने । किनभने यो भाइरस ७० डिग्रीभन्दा माथिको तापक्रममा ३० मिनेटभन्दा बढी समय बाँच्न सक्दैन ।
नेपालमा पनि बर्ड फ्लुबाट पहिलोपटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।
(लेखक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस चौथो वर्षमा अध्यनरत छन् ।)
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६