कवितामा ‘विश्वस्तर’ हुन्छ या हुँदैन भन्ने प्रश्न कविताको वृत्तमा उठिरहने प्रश्न हो । कविताको स्तरलाई कुनै गणितीय मापदण्डको आधारमा मापन गर्ने सर्वमान्य कसी त नहोला तर विश्वसाहित्यको समालोचकीय कित्ताले अघोषितै रूपमा भए पनि स्वीकार गरेका केही सर्वमान्य मापदण्डहरू अवश्य छन् । यस आधारमा हेर्ने हो भने विश्वस्तर भन्ने केही अवश्य हुन्छ, जसलाई प्राप्त गर्ने निरन्तर कोसिसले नेपाली लेखकलाई आफैँलाई परिष्कृत गर्ने चुनौती दिइरहन्छ ।
समय र भूगोललाई पनि चिरेर, सार्विक रुपमै स्वीकृत यी समालोचकीय कसीहरूलाई पनि स्वीकार गर्दिनँ भनेर कोही गर्जन् गर्छ भने त केही भन्न सकिन्न तर टी.एस. इलियटले भनेजस्तो साहित्यको विराट परम्पराको सापेक्षतामै कविले आफ्नो पृथकता खोज्नुपर्छ भन्ने कुरालाई मान्ने हो भने यी समालोचकीय मापदण्डलाई पनि स्वीकार गर्नु नै मनासिव ठहरिन्छ । यस लेखको सीमालाई ध्यानमा राख्दै यस्ता केही लोकप्रिय मान्यताको विश्लेषण यहाँनिर गरिएको छ ।
फ्रान्सेली समालोचक फ्राङ्कोई दी मालहर्ब कवितालाई नृत्यसँग तुलना गर्छन्, जसले एकैचोटि मन, मस्तिष्क र शरीरलाई एउटै कार्यमा एकाग्र गरिदिने सामथ्र्य राख्छ । यसको अर्थ हो, कवितामा ध्वनिवन्यासको सौन्दर्यसहित वैचारिक प्राचुर्यको अभूतपूर्व सङ्गम हुनुपर्छ । नाच्नु भनेको हिँडनु जस्तो नैसर्गिक हुरा होइन, जसको अनिवार्यताले खुट्टो खोच्याउनु, लंगडाउनु अदि असामान्य चाललाई पनि व्यक्तिको नियतिको विशेष आवस्था मानेर क्षम्य बनाइदिन्छ । तर नृत्य कसैको बाध्यता होइन, घोषित रोजाइ हो र यसमा आएका त्रुटिहरू क्षम्य मानिँदैनन् । बरु भनिन्छ, ‘नाच्नै अनाउनेले नाच्न किन तम्सिनु ? के ननाची जीवनै नचल्ने हो र, हिँड्नुजस्तो ?’
मन, मस्तिष्क र शरीरलाई एकैचोटि झङ्कृत पार्न नसक्ने कविलाई यस्तै ‘उपबुज्रुक’ नर्तकसँग तुलना गर्न सकिन्छ ।
फ्रान्सेली कवि पल भलेरी पनि मालहबको तर्कसँग सहमत छन् । उनी भन्छन्, ‘हिँडाइ आफैँमा कुनै उद्देश्य होइन, यसबाट प्राप्त गुर्नपर्ने अर्कै कुनै लक्ष्य हुन्छ । तर नृत्य आफैँमा एक उद्देश्य हो, एक प्राप्ति हो । कविता पनि त्यस्तो हो, जो आफैँमा एक पूर्ण प्राप्ति हो, जसले मानिसलाई जीवन र स्वअस्तित्वको उच्चतम विन्दुमा उद्घाटित गरिदिन्छ ।’ आख्यानले जस्तो कविताले शरीरको उपेक्षा गरेर केवल मस्तिष्कमा एक काल्पनिकतालाई या काल्पनिकताको कलेवरमा यथार्थलाई प्रस्तुत गरिरहने होइन । बरु कविता, भलेरीकै शब्दमा, ‘पाठकको सम्पूर्ण अस्तित्वभरि पोखिन्छ, मांसपेसीहरूको संरचनालाई लयको तरङ्गले उत्तेजित गरिदिन्छ र हाम्रो अस्तित्वको गरिराइलाई व्यवस्थित गरिदिन्छ ।’ यस अर्थमा शक्तिशाली कविताले पाठकको कुनै पनि आस्तित्विक अवयवलाई स्पर्श नगरी छाड्दैन ।
भलेरीले कवितामा कल्पना गरेको यो शक्ति सर्वोच्चस्तरका कविताको शक्ति हो । यस्तो क्षमता भएको कविताको रचनाको प्रयास गर्नु काव्यिक सर्वोच्च्तालाई प्राप्त गर्ने प्रयास गर्नु हो । त्यस्तो सर्वोच्च कविताको संरचनागत र बिम्बजन्य लक्षण कस्तो हुन्छ ? धेरै विद्वानहरूले यस प्रश्नको उत्तर खोज्ने कोसिस गरेका छन् । बेलायती कवि विलियम वर्ड्स्वर्थ भन्छन्, ‘कविता त्यो भावपूर्ण अभिव्यक्ति हो, जुन हरेक विज्ञानको मुखमण्डलमा हुनुपर्छ । यसले सबै ज्ञानको स्वास र सूक्ष्म आत्मा हुने क्षमता राख्नुपर्छ ।’ कवि मिथ्यू आर्नोल्ड ठान्छन्, ‘हरेक महान् कविताले एक आदर्श अर्थात् टचस्टोन बन्ने क्षमता राख्नुपर्छ, जुन अन्य कविताको स्तर मापन गर्ने कसी बन्न सकोस् ।’
आर्नोल्डले कल्पना गरेको त्यस्तो उच्चतम स्तरको कविताका लागि हाम्रो कल्पनाशीलता, कविता लेखनको तयारी र जिम्मेवारीबोध पनि त त्यत्तिकै बुलन्द हुनुपर्छ । जे लेखे पनि विश्वस्तर हुन्छ भन्ने दुरुह मानसिकताबाट त्यस्तो कविता आउने आशा कहिल्यै गर्न सकिन्न । त्यस्तो मानसिकता पाल्नेहरू कहिल्यै आफैँलाई चुनौती दिँदैनन् र सतत् सुधारको मार्गमा हुँदैनन् । त्यस्तो कवि आफ्नै लागि लेखिरहेको हुन्छ र नार्सिसस् जस्तो आत्मानुरागमै रुमल्लिइरहेको हुन्छ ।
कविताको संसार त्यस्तो होस्, जहाँ उपबुज्रुकताले कुनै प्रवेश नपाओस्, जहाँ केवल यो वर्ग वा त्यो वर्ग होइन, सृष्टिको सम्यक र सार्विक यथार्थ अटाओस्, जसले वर्गहरूको जन्म र विभाजन पछाडिको विभेदकारी मताग्रहलाई कुनै पनि युगमा पर्दाफास गर्ने ल्याकत राखोस्, जुन केवल यो काल या त्यो कालको गर्ततिर होइन, इमिली डिकिन्सिनले भनेजस्तो एक समायातीत अनन्ततातिर उन्मुख होस् ।’
यसको अर्थ कविताले समय बोक्दैन, समयको यथार्थ लेख्दैन भन्ने कदापि होइन । अर्थ यो हो, समय बोके पनि समय र भूगोलभन्दा पर र माथि पनि बाचिरहनुपर्छ कविता । वर्तमानका घटनामा अभिव्यक्त भएर आएको त्यो अन्तध्र्वनि हो कविता, जुन घटना सकिएपछि पनि अभिव्यञ्जित भइरहेको हुन्छ र समायातीत हुन्छ । कुनै एक आन्दोलन, एक क्रान्ति, एक परिवर्तन या एक युद्धको नारा या अनुहार होइन कविता । कविता त्यो सार्विक स्वर हो, जसले समय र स्थानका सीमालाई चिरेर सुदूर विगतमा आएका र अदृश्य आगतमा पनि आइपर्ने त्यस्तै प्रकृतिका आन्दोलन, क्रान्ति, परिवर्तन र युद्धलाई सम्बोधन गर्ने मानवीय यथार्थको द्योतक हो । वर्ड्स्वर्थलाई मान्ने हो भने कविता वर्तमानसँगै ‘फार अफ थिङ्स’ अर्थात् सुदूरका यथार्थको सुन्दर अभिलेख पनि हो र ‘मे बी एगेन’ अर्थात् पुनः हुनसक्ने यथार्थको भविष्यवाणी पनि हो । उनकै शब्दमा, ‘यो आगतका लागि विचारको आहार हो ।’
त्यस्तो प्रकृतिका कविताका हरफहरू पाठकहरू कण्ठ पार्छन्, कोठाका भित्ताहरूमा टाँस्छन्, ओठओठमा सजाउँछन्, उद्धृत गरिरहन्छन् र जीवनका कठिन मोडमा अन्यत्र कतै पनि समस्याको समाधान नभेटेपछि त्यस्ता हरफहरू दोहो¥याएर तिनैभित्र कठिन प्रश्नहरूको उत्तर खोज्छन्, जोखिमबाट निस्कने बाटो खोज्छन् । सुखका क्षणहरू सजाउँछन्, सपनालाई शृङ्गारित गर्छन्, आँसु, हाँसो र खुसी साँध्छन् र सम्पूर्ण रसहरूको परिधानले समय सजाउँछन् ।
भारतका टैगोर, नाइजेरियाका वोले सोयिङ्का, वेस्ट इन्डिसका डेरेक वाल्कोट, पेरुकी भार्गास लोसा, दक्षिण अफ्रिकाका नेडिन गोर्डिमर जस्ता लेखकले त साहित्यतर्फ नोबेल पुरस्कारै पाए, विशेषतः कविताकै क्षेत्रमा योगदानका लागि । तर गैरपश्चिेमेली कविहरूको र पुरस्कार विजेता यतिविधि लेखकहरूको भीडमा कति छन् नेपाली नाम ?
नेपाल जस्ता पश्चिमेत्तर र अविकसित देशबाट आएका कविताले विश्वसाहित्यमा यस्तै उच्चस्तर कायम गरकै कारण अड्डा जमाएको सत्य हो । भारतका, रवीन्द्रनाथ टैगोर, निसिम इजेकियल, केकी दारुवाला, जयन्ता माहापात्रा र रुक्मिणी भाया नायर, बङ्गलादेशका कैशर हक, पाकिस्तानका अहमद अली, अलामगीर हासमी, बापसी सिध्वा, र आमर हुसैन, श्रीलङ्काका लकदासा विक्रमसिंहा र रिचर्ड जोयसा, मलेसियाकी ई टियाङ् होङ्, मोहमद बिन सजी सलेह, सर्ली ग्योक–लिन लिम, सिङ्गापुरका ली जु फेङ्, वेस्ट इण्डिसका लुइजी बेन्नेट, डेरेक वाल्कोट, भलेरी ब्लुम र कमाउ ब्रेथवाइट, नाइजेरियाका वोले सोयिङ्का, युगाण्डाका ओकोट पिबिटेक आदि असङ्ख्य कविहरू अन्तर्राष्ट्रिय कविताका प्रतिनिधि काव्यग्रन्थहरूमा समाविष्ट, विभिन्न विश्वविद्यालयमा अध्ययन–अनुसन्धान भएका कृतिका लेखक र अन्तर्राष्ट्रियस्तरका पुरस्कार विजेता लेखकहरू हुन् ।
उनीहरूतिर पश्चिमा जगत आफैँ आइदिएको कदापि होइन । उनीहरूले आफ्नो रचनाको शक्तिले विश्वलाई सम्मोहित गरे, ध्यान दिन बाध्य गरे । भारतका टैगोर, नाइजेरियाका वोले सोयिङ्का, वेस्ट इन्डिसका डेरेक वाल्कोट, पेरुकी भार्गास लोसा, दक्षिण अफ्रिकाका नेडिन गोर्डिमर जस्ता लेखकले त साहित्यतर्फ नोबेल पुरस्कारै पाए, विशेषतः कविताकै क्षेत्रमा योगदानका लागि ।
तर गैरपश्चिेमेली कविहरूको र पुरस्कार विजेता यतिविधि लेखकहरूको भीडमा कति छन् नेपाली नाम ? हो, यी नामहरूमध्ये कतिले आफैँ अङ्ग्रेजीमा लेखे, अरूले कुशल अनुवादक पाए । तर उनीहरूको कवितामा आफ्नै विशिष्ट शक्ति र दम पनि नभइदिएको भए अङ्ग्रेजीमा लेखिँदैमा प्रख्यात हुने पनि होइन । फेरि जन्मँदै दुरुह जन्मेको कवितामा अनुवादकले प्राण थप्नसक्ने कुरा पनि हुँदैन ।
पश्चिम होस् या गैरपश्चिम क्षेत्र, कतै पनि कविताले प्रप्त गरेरको उचाइका पछाडिका कारणहरूको विश्लेषणले हामीलाई फाइदा गराउँछ । पश्चिमा मुलुकबाट आएर विश्व कविता आन्दोलनलाई हाँक दिने कवितहरूमा केही प्रमुख विशेषताहरू देखिन्छन्, जसबाट हामी पनि प्रभावित हुन सकिन्छ । उनीहरू कुनै निश्चित भूगोल र समयभित्र रहेर लेखे पनि उनीहरूको कवितामा सार्विक र वैश्विक अपिल छ । उनीहरू ग्रिसेली र रोमन मिथकको विराट धरोहरलाई समाएर उभिए ।
टी.एस. इलियटले भनेजस्तो, ‘युरोपको कुनै एक देशको कवि हुन पनि उनीहरूले सम्पूर्ण युरोप महादेशको ज्ञान, मनोविज्ञान पढे । फलस्वरूप उनीहरूको बिम्बविधानको व्यापकता अतुलनीय हुनपुग्यो ।’ फेरि उनीहरूले सोफोक्लिस, होमर, भर्जिल, स्पेन्सर र मिल्टनले तयार गरेको विराट काव्यसत्ताको उत्तराधिकार पनि त पाए । जुन कवि गैरपश्चिमा मुलुकबाट आएर नाम कमाए, उनीहरूमा धेरैजसोले कि आआफ्नो सभ्यताको विशिष्ट दर्शन र मिथकमा टेके कि विश्वले पढ्न नपाएको लघुइतिहासलाई आधार बनाए कि जीवन र जगतका बारेमा सधैँ नयाँ कुरा गरिरहे ।
नेपालमा पनि विश्वस्तरका कविता जन्मिएका हुन् तर स्तरीय अनुवादको अभावमा तिनीहरूले विश्वको ध्यान तान्न सकेनन् । यो विगतको कुरा हो । तिनीहरूको निष्पक्ष र वस्तुगत आधारको छनोट र स्तरीय अनुवाद गरिनु आवश्यक छ । तर यतिविधि कविता लेखिने गरेको, यतिका धेरै अनुवादक र सम्पादक आइरहेको र प्रविधिको यत्रो विकास र विस्तार भएको बेला पनि आजको हाम्रो नेपाली कविता किन विश्वको आँखामा अडिन सकिरहेको छैन ? यो गम्भीर आत्ममन्थनको विषय हो ।
आमजनताको जीवनको प्रतिनिधित्व गर्ने घोषित एजेण्डासहित लेखिने अधिकांश समसामयिक नेपाली कविताको चर्चा र प्रभाव कतै कवि, साहित्यकार, साहित्यिक पत्रकार, समीक्षक र समालोचक, अर्थात् साहित्यकै कोटरीमा सीमित हुन त पुगेको छैन ? जसका कारण उक्त कविता आमजनताको ओठमा नयाँ गीत र सुक्ति बन्न सकेन ? धेरै राजनीतिक बिम्बहरूले लत्पत्तिएको पछिल्लो नेपाली कविता र दिनैपिच्छे छापिने अखबारका हेडलाइनमा या पार्टीहरूले ल्याएका घोषणापत्रहरूमा वस्तुगत भिन्नता कति छ ? केलाउँदा कतिपय कुराहरू छर्लङ्गिएर आउँछन् । फेरि इतिहासकारले चिनेको बुद्ध, पर्यटक र भूगोलविद्ले चिनेको सगरमाथा, कार्ल मार्क्सले चिनेको सर्वहारा र मेरी वुल्सेन्क्राफ्टहरूले चिनेकी शोषित नारीमा र अभिधात्मक आर्थमा आजका अधिकांश कविले चिनेको बुद्ध, सगरमाथा, सर्वहारा र नारीमा भिन्नता कति छ ?
बुद्ध या सगरमाथाका बिम्बबाट हजार अर्थ आए पनि अर्को नयाँ अर्थको अविष्कार गर्नसक्नु कविको चुनौती र प्राप्ति दुवै हो । मिथकीय धरोहरको जानकारी नयाँ पुस्तामा कति छ ? र विभिन्न राजनीतिक मताग्रहकै कारण आधुनिक पुस्ता यसतर्फ पर्याप्त रूपमा आकर्षित हुन नसकेको, जसको असर बिम्बहरूको चयन र प्रस्तुतिमा प्रत्यक्ष परिरहेको देखिन्छ भनेर गरिने विश्लेषणप्रति युवापुस्ता के भन्छ ? मिथकीय सन्दर्भहरू हाम्रो सभ्यताकै सामूहिक अवचेतनका घटक हुन् र आदिम युगदेखि वर्तमान युगसम्मको मनोविज्ञानका अभिलेख हुन् । ती मिथ्या हुन्, सबैलाई थाहा छ तर तिनीहरूसँग हजारौँ प्रतीकात्मक अर्थ बोक्ने क्षमता हुन्छ । आजका अधिकांश नेपाली कवि यसबाट कोशौँ टाढा रहेको भान हुन्छ । त्यस्तै हाम्रो लोकजीवन र लोकसंस्कृतिभित्र निहित नितान्त मौलिक बिम्बको खानीभन्दा पर हम्रा कविहरू विशिष्टता खोजिरहेजस्ता देखिन्छन्, मूल्यमा, जबकि त्यसै लोकजीवन र मिथकको धरोहरमा टेकेर डेरेक वाल्कोट र भलेरी ब्लुमले सफलताको आकाश चुमेको सत्य विश्वसामु छँदै छ ।
त्यसैले अबको नेपाली कविता हेरोल्ड ब्लुमले भनेजस्ता अतिप्रयोगद्वारा प्रभावहीन हुनपुगेका ‘मृत बिम्बहरू’मार्फत् कविभित्र गान्निएको भावनाको अभिव्यक्तिबाट अत्यन्त सचेत हुनुपर्ने देखिन्छ । भन्न बाँकी धेरै कुरा छैनन् सायद तर हजारौँ वर्षसम्म हजारौँ कविले प्रयोग गरिरहँदा पनि नसकिने हाम्रा मौलिक सामाजिक–सांस्कृतिक बिम्ब हामीसँग छन्, जसलाई जान्न, पढ्न विश्व सधैँ लालायित छ । अबको कवि गम्भीर जिम्मेवारीबोधका साथ त्यतातिर लाग्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५