काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन प्रणाली पुरुषहरूको दाइजो नभएको बताएकी छिन्।
समृद्ध नेपालका लागि सशक्त महिला भन्ने नारासहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्न सक्नेगरी क्षमता विकास गरिसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सीमित राख्न नहुने बताएकी हुन्।
महिलाहरुमा राजनीतिक, सामाजिक तथा आर्थिक हिसाबले सशक्तीकरण आइसकेको भन्दै उनले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्नेमा जोड दिइन्। प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन। अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने हो, मन्त्री अर्यालले भनिन्, महिला कमजोर हुन्छ भन्ने कुरा गलत हो। समानुपातिकमा जति महिलाको उपस्थिति छ र प्रत्यक्षमा पनि महिलाले उपस्थिति जनाउन सक्छन् भनेर निर्वाचन प्रणालीबारे छलफल चलाउनुपर्छ।
महिलालाई समानुपातिक तिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउँदै उनले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने बताइन्।
सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उनले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको धारणा राखिन्। महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको दाबी गरिन्।
राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न संघसंस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै उनले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक संघसंस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरिन्।
नीति नभएको भए आज स्थानीय तहमा ४१ प्रतिशत महिलाको उपस्थिति हुनसक्ने अवस्था नरहने भन्दै उनले अब आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने समय आएको औंल्याइन्। आर्थिक रुपमा सफल नभइकन महिलाले कुनै पनि क्षेत्रमा स्वतन्त्रता प्राप्त गर्दैन। अबको दिशा भनेको आर्थिक सशक्तीकरणकै दिशा हो। उद्यमी बन्ने, उत्पादनमा लाग्ने हो, अर्यालले भनिन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले हरेक तहमा एक तिहाइ महिला नेपाली कांग्रेसले सुनिश्चित गरेको दाबी गरे। त्यो अभियानमा आफूले पनि भूमिका निर्वाह गरेको भन्दै नेता रिजालले राजनीतिक अधिकारका लागि लड्न महिलाहरुलाई आग्रह गरे। तर, महिलाको आर्थिक सशक्तीकरणका लागि भन्दै हानी हुनेगरी भने लाग्न नहुने उनले सुझाए।
१ सय महिला नेताहरुले सुरुआत गरेको यो अभियान अहिले सबै सरकारी तथा गैरसरकारी संस्था एवं सरोकारवालाको साझा अभियान बनिसकेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६