धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी च्याप्टरले विश्व उच्च रक्तचाप दिवस र मे मेजरमेन्ट मन्थ २०१९ को अवसरमा धरानमा निःशुल्क उच्च रक्तचाप र मधुमेह स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
च्याप्टरले धरान ११ मंगलबारेमा निः शुल्क शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा सो क्षेत्रका एक सय १६ जनाको निःशुल्क रक्तचाप परीक्षण गरिएको थियो । यस्तै ३० जनाको ब्लड सुगर परीक्षण गरेर निःशुल्क परामर्श पनि दिइएको थियो ।
शिविरमा २३ जनामा उच्च रक्तचाप रहेको पाइएको थियो । जसमा ८ जनालाई पहिले उच्चरक्तचाप पत्ता नलागेको भेटिएको संस्थाका कार्यक्रम आयोजक सुशील ढकालले बताए ।
त्यसैगरी रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परीक्षणका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वस्थ जीवनशैलीका बारेमा परामर्श पनि दिइएको थियो ।
उक्त शिविरमा मधुमेह र उच्च रक्तचापसम्बन्धी जानकारी लेखिएका सामग्रीहरू पनि वितरण गरिएको थियो । उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न सकिने सचेतना दिइएको थियो ।
बढ्दो उमेर वा मोटोपनले, विशेषगरी खानपिनमा ध्यान नदिने र शारीरिक व्यायामको कमीले बयस्क उमेरदेखि नै चिनी रोगले सताउने आयोजक संस्थाकी उपाध्यक्ष नर्स सविना केसीले बताइन् ।