वालिङ : वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई शनिबार अन्डा वितरण गरेको छ । वडा नं. १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई १/१ क्यारेट अन्डा वितरण गरिएको हो । उक्त वितरणका साथै महिलालाई क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण तालिमसमेत दिइएको छ ।
वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित ५० हजार रकमले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्धवार्षिक रूपमा सञ्चालन गर्दै लैजाने बताए ।
‘वडा नं. १ ले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै अन्डा वितरण गर्ने कार्य प्रशंसनीय छ,’ वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, ‘आमा र बच्चाको स्वास्थ्यप्रति सजग रहँदै बजारमा प्याक गरिएका आहारभन्दा घरमै उत्पादन हुने पौष्टिक तत्त्वको अधिकतम प्रयोग गर्नेतर्फ प्रेरित गर्दै जानुपर्छ ।’
बच्चा र आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात् जन्मिएको २ वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने हुँदा सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अन्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।
वडा नं. १ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पुर्याउने गरी योजना बनाउनुपर्ने नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५