दाङ : सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन्। मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताए ।
संविधानले बहुपहिचानयुक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले संविधानमा बहुपहिचानको सम्बोधन हुनु सबै समुदायको लागि ठूलो उपलब्धि भएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सभामुख महराले देशभित्र रहेका सबै भाषा तथा संस्कृतिको संरक्षणका लागि अझैं केही ऐन कानूनको अभाव रहेको र सरकारले छिट्टै त्यसको मस्यौदा बनाएर संसदमा ल्याउने विश्वास व्यक्त गरे । आफू पनि मगर समुदायकै बीचमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको विशेष भूमिकाले आफू राज्यको विशिष्ट स्थानसम्म पुग्न सफल भएको स्मरण गरे ।
यसैबीच सभामुख महराले प्रतिष्ठानमा गतवर्ष आफूले ५० हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेको भन्दै यसवर्ष उक्त अक्षयकोषमा ५० हजार रुपैयाँ थप गर्ने घोषणा गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भाषा, संस्कृति र मौलिकता राष्ट्रिय पहिचान भएको बताउँदै नगरले सबै समुदायको भाषा, वेषभूषा र संस्कार संस्कृति संरक्षण गर्ने नीति लिएको उल्लेख गरे ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५