दाङ ः जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने महिलामा पाठेघरको समस्या रहेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलाको सङ्ख्याले सो कुरा पुष्टि गरेको हो ।
६५ वर्षीया भण्डारीले १५ वर्षको कलिलो उमेरमा घर नजिकै लडेर पाठेघर अर्थात् आङ खसेको भए पनि लाजले आफ्नो समस्या परिवारमा नसुनाएको बताइन् । पाठेघर खस्यो भन्न लाज लाज लागेकाले उनले कसैलाई भनिनन् । तर अहिले घरनजिकै शिविर आएपछि उपचार गराउन आएको उनले बताइन् । ‘यो त रोग रहेछ, लाज मान्नुपर्ने रहेनछ, अहिले डाक्टरले शल्यक्रिया गर्नुपर्छ भन्नुभयो,’ उनले भनिन् ।
५ छोराछोरीकी आमा रहेकी भण्डारीका श्रीमान् केही वर्ष पहिले नै बितिसकेका छन् । अहिले उनी छोरीसँगै उपचारका लागि त्यहाँ आएकी थिइन् । त्यस्तै सोही वडाकै ५५ वर्षीया काली नेपालीले पनि १६ वर्षको कलिलो उमेरदेखि आङ खस्ने समस्याबाट पीडित भएको बताइन् । उनको १४ वर्षको उमेरमा विवाह भएको रहेछ । पहिलो सन्तान जन्मेको समयमा धेरै दिन सुत्केरी बस्न पनि पाइनन् । कामको बोझले एक्कासि पाठेघर खस्यो । सुरुमा त थाहा भएन । रगत बग्ने, तल्लो पेट दुख्ने भइरहन्थ्यो तैपनि लाजकै कारण घरमा कसैलाई भनिन् । ‘माइत गएको बेला पनि कसैसँग भन्न सकिनँ, सहँदै बसें,’ उनले भनिन्, ५ वर्षअघि मात्र घरमा श्रीमानलाई भनें ।
शिविरमा २ महिला मात्र होइन यो समस्याबाट पीडित धेरै महिला उपचारका लागि यहाँ आएका छन् ।
रोग लुकाउने प्रवृत्ति, आर्थिक अभावका कारण वर्षौंदेखि सो रोगको उपचार गर्न नसकेका दाङका महिलालाई लक्षित गर्दै तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको समन्वयनमा तुलसीपुर उपमहानगरपालिका-१ र २ को संयुक्त आयोजनामा शुक्रबार सो क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरमा ४९१ महिलाको पाठेघरसम्बन्धी चेक जाँच गरिएकोमा १७८ महिलामा पाठेघरको समस्या, २७ को पाठेघर खसेको र तीन जनामा पाठेघरको क्यान्सरको शङ्का र अन्यमा पाठेघरको सङ्क्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५