काठमाडौं : मोतीदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रका संघर्षशील महिलाहरुको जीवनी र उनीहरुको सफलताबारे पुस्तक प्रकाशन गरेको छ ।
‘प्रेरणादायी महिलाहरु’ नामक सो पुस्तकमा १५ जना महिलाहरुको जीवन भोगाइ, योगदान र उनीहरुबाट सिक्न सकिने कुराहरु समावेश गरिएको छ ।
नेपालकै पहिलो महिला प्रहरी चैतमाया डंगोल, पहिलो महिला सचिव चन्द्रकला किरणदेखि बहुप्रतिभाशाली युवा रोजिता बुद्धाचार्यसमेतको सफलतालाई समेटिएको केन्द्रले जनाएको छ ।
को को छन् पुस्तकमा ?
चन्द्रकला किरण : पहिलो महिला सचिव
वि.सं. २००५ साल श्रावण १८ गतेका दिन सिंहदरबारको बैठक कक्षमा श्री ३ मोहन शम्शेर जबरालाई दाम राखिन् र उनी निजामती सेवामा प्रवेश गरिन् । वि.सं. १९८६ साल असोज २४ गते कालिङपोङमा आमा पवित्रादेवी र बुबा कर्णबहादुर महतको कोखबाट छैठौं सन्तानको रुपमा जन्मिनु भएको हो चन्द्रकला । जन्मे÷हुर्केको नेपालमा होइन तर नेपालको लागि उनले इतिहासको पानामा नाम लेखाउन सफल भइन् । निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पुगेर उनी आममहिलाको लागि पे्ररणाको स्रोत हुन् ।
चैतमाया डंगोल : पहिला महिला प्रहरी
चैतमाया डंगोल २००८ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गर्नेे महिला हुन् । ३२ वर्ष प्रहरी सेवामा बिताएकी उनी ८६ वर्षको पुगिन् । काठमाडौंको नेवार समुदायमा जन्मिएर नेवार समुदायकै केदारबहादुर श्रेष्ठसँग बिहे भयो । तालिमका क्रममा श्रीमान्ले प्रहरीमा नजानु भनेपछि घर छोडेर माइतीमै बसिन् । तर प्रहरी सेवा छाडिनन् । श्रीमानलाई बरु तपाईंलाई छोड्छु, जागिर छोड्दिन भनेपछि केही महिनामा श्रीमान माइतीमा लिन आए र त्यसपछि भने उनलाई श्रीमानसहित घरपरिवारले सहयोग नै गरे । त्यसपछि निरन्तरता दिइन् । प्रहरी सेवामा ३२ वर्षसम्म ।
डा.मीना आचार्य : अर्थशास्त्रीरराष्ट्र बैंकको पहिलो महिला अनुसन्धान अधिकृत
झण्डै ५० वर्षदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत आचार्य नेपालको थोरै अर्थशास्त्री मध्येमा पछिन् । उनका दर्जनभन्दा बढी पुस्तक तथा दर्जनौं प्राज्ञिक लेख तथा अनुसन्धान प्रतिवेदनहरु प्रकाशित छन् । वि.संं. १९९५ मा जन्मिएकी उनले राष्ट्र बैंकको पहिलो महिला अनुसन्धान अधिकृत हुन् । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन मेडिसिनबाट विकास अध्ययनमा विद्यावारिधि (सन् १९८७) गरेकी आचार्य हाल नेपाल सरकारले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानको सदस्य हुन् ।
अन्जना ताम्राकार : उद्यमी
मध्यम वर्गीय परिवारकी उनी सफल उद्यमी हुन् । बुबाको हस्तकलाको व्यवसाय भएका कारण व्यवसाय बुझ्न गाह्रो भएन । विभिन्न ठाउँमा जागिर खाँदै, विभिन्न काम गर्दै अन्जनाले वि.सं. २०६२ सालमा नेपाली हाते कागज उद्योग आफैंले स्थापना स्थापना गरिन् ।
हाल सफल उद्यमीको रुपमा परिचित छन् ।
रोजिता बुद्धाचार्य : सगरमाथा आरोही, कलाकार
वि.सं. २०४७ कात्तिक २२ मा जन्मिएकी संघर्षको प्रतिमूर्ति हुन् रोजिता बुद्धाचार्य । काठमाडौंको असनमा जन्मिएकी रोजिताले सानैदेखि आमाको माया महशुस गर्नै पाइनन् ।
फलस्वरुप हजूरआमासँगको हुर्काइसँगै उनकै पालामा गर्ने जस्तो छोराछोरीबीचको विभेदको तीतो अनुभव धेरै छ रोजितासँग । छोरीले पढ्नुहुँदैन भन्नेदेखि साइकल चलाउनुहुँदैन छोरी मान्छेले भन्नेसम्मको अनुभव ताजै छ अझै । यद्यपि सबै खाले विभेदका बाबजुद पनि पढ्नुभयो, धेरै नयाँ कामसँगै सगरमाथा आरोहण पनि गरिसकिन् ।
त्यति मात्र होइन साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्रमा अभिनय पनि गरिन् ।
उल्लेखित व्यक्तित्वहरु जस्तै १५ जनाको जीवन भोगाइ ‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तकमा समावेश छ । ‘पे्ररणादायी महिलाहरु’ विगत ५ वर्षदेखि मोतीदेवी स्मृति केन्द्रले प्रकाशित गर्दै आएको छ ।
केन्द्रका अध्यक्ष एवं नेकपाका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार वर्षेनि मार्च ८ को अवसरमा विभिन्न खाले संघर्ष गरेर सफल भएका महिलाहरुको पे्ररणादायी योगदानलाई समेटेर पुस्तकमा प्रकाशन गर्ने गरिएको छ ।
यो पुस्तकको यस वर्ष पाँचौ संस्करण हो । पुस्तकको मूल्य एक सय ५० रुपयाँ राखिएको छ । पुस्तकमा गरिमा शाह, ममता गिरी, अमिका राजथला, लक्ष्मी बस्नेत, सबिता शर्मालगायतले लेखेका छन् ।
स्राेत : ओएनएस न्युज
प्रकाशित मिति: शनिबार, चैत २, २०७५