काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साहलाई नियुक्त गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्रीले सुनसरीका साहलाई शुक्रबार नियुक्त गरेका हुन् । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्त गरेका छन् ।
जसअनुसार पर्साका प्रा डा सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा डा पियुस दाहाल डिन र सप्तरीका डा केदारप्रसाद सेन्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन् । उनीहरु सबैको पदावधि चार वर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई बालुवाटारमा पद तथा गोपनियताको सपथ गराए ।
शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए । ५०० रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस्, त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछु, प्रधानमन्त्री ओलीले भने, अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।
वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्नसमेत निदेर्शन दिदै प्रधानमन्त्री ओलीले भने, सिनियर भएपछि काम गर्न नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्नसमेत आग्रह गरे । डाक्टर, नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस्, तपाईंहरुको व्यवहारले बिरामीले राहत महसुस गर्नुपर्दछ , प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५