डा. बाबुराम भट्टराई माघ १५ देखि फागुन १५ सम्म पुष्पलाल लोकमार्गमा पर्ने २८ जिल्लाका १४४ स्थानमा जनसंवाद कार्यक्रम गरेर काठमाडौं फर्किएका छन् । एक दशक लामो माओवादी ‘जनयुद्ध’को मूल नेतृत्वमा रहेका उनी हाल नयाँ शक्ति पार्टी नेपालका संयोजक छन् । वैकल्पिक शक्तिका रूपमा आगामी चार वर्षभित्र देशलाई नेतृत्व दिने अभियानमा आफूहरू रहेको भट्टराई बताउँछन् । पृथकतावादको अभियान चलाइरहेका सिके राउतलाई सरकारले अदालत सेटिङ गरेर छुटाएको धारणा राख्ने उनी विप्लव नेकपामाथि सरकारले प्रतिबन्ध लगाउनु त्रुटिपूर्ण भएको बताउँछन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक उनै डा. बाबुराम भट्टराईसँग जनसंवाद अभियान र देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर आजको न्युजकर्मी जगन्नाथ दुलाल र घनेन्द्र ओझाले गरेको कुराकानी प्रस्तुत छ ।
भर्खरै जनसंवाद अभियान सकेर आउनुभएको छ । कस्तो अनुभूति रह्यो ?
माओवादी जनयुद्ध सुरुवात गर्दा पनि म हिँडेको थिएँ । पश्चिममा कैलालीदेखि पूर्वको संखुवासभासम्म पैदलै हिँडेर पुगेको थिएँ । प्रधानमन्त्री हुँदा पनि कहिले दलितको घरमा, कहिले मुसहरको घरमा गएँ । त्यो भुइँ तहबाट, जनतासँगको सम्पर्कबाट नकटियोस् भनेर निरन्तर जनतामा गएको हो । विशेष अभियानकै रूपमा अहिले जनसंवाद अभियानमार्फत् चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म पुगेँ ।
मध्यपहाड भनेको नेपालको मेरुदण्ड हो । केही दशक पहिलेसम्म झण्डै दुई तिहाई जनसंख्या मध्यपहाडमै बस्थ्यो । पछिल्लो चरणमा जनसंख्या बसाइँसराइ गरेर घट्दै गयो, आर्थिक रूपमा विपन्न हुँदै गयो । त्यसको प्रत्यक्ष अवलोकन गर्ने ध्येयले अभियानकै रूपमा गएको हुँ । मैले ०६५ सालमा बजेटमा पहिलो पटक यसलाई राखेर पुष्पलाल लोकमार्ग नामकरण गरेँ । ०६४ सालमा हिसिला यमीजी भौतिक योजनामन्त्री भएका बेलामा पहाडका बाटा बनाउने भनेर सामान्य सुरवात भएको थियो । यसलाई मध्यपहाडी लोकमार्ग र पुष्पलाल लोकमार्ग भनेर चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म सीमांकन गरेको मेरै पालामा हो । यही लोकमार्गमा जनताको कुरा सुनेर आएको छु ।
हामीले अभियानका क्रममा धेरै स्थानीय जनप्रतिनिधिसँग संवाद गर्यौँ । हामीले स्थानीय तहका पदाधिकारीहरू जुन दलको भए पनि सबैसँग समान व्यवहार गर्यौँ । यो मार्गमा धेरै कांग्रेस र एमालेले नै स्थानीय तहमा जितेका छन् । त्यसैले स्थानीय तहमा कांग्रेस र एमालेका नै धेरै मानिसहरू भेटिए । रुकुम, जाजरकोट जस्ता ठाउँका स्थानीय तहमा धेरै माओवादी साथीहरू भेटिए । वैचारिक रूपमा निकटचाहिँ माओवादीकै साथीहरू भए । पहिला सँगै काम गरेका साथीहरू भेट्दा भावुक पनि हुनुभयो उहाँहरू । म पनि केही भावुक भएँ ।
जनसंवादका क्रममा के पाएँ भने, कांग्रेस जेसुकै भए पनि खुला र उदार राजनीति गर्न पहिलेदेखि नै अभ्यस्त भइसकेको हुनाले राजनीतिक रूपमा बढी सहिष्णु र खुला कुरा गर्ने गरेको देखिए संस्कारका हिसाबले । त्यसपछि एमाले देखियो । माओवादी साथीहरू देख्दा भावुक पनि देखिनुहुन्थ्यो तर अलिक संकीर्ण देखियो । भावना गलत नभए पनि उहाँहरू निषेधात्मक द्वन्द्ववादमा अभ्यस्त हुँदै आएकाले सांस्कृतिक रूपमा त्यस्तो फरकपन देखियो । मलाई त्यो रोचक नै लाग्यो ।
जनयुद्धका क्रममा गाउँ पुग्दा र अहिले जनसंवाद अभियानमार्फत् जनतासँग प्रत्यक्ष संवाद गर्दा के फरक पाउनुभयो ?
जनयुद्धताका हेर्दा हामी जस्तो देख्थ्यौँ, अवस्था उस्तै पाएँ । जनता गरिब छ । फाटेको लुगा लगाएको छ । खाली खुट्टा हिँडेको छ । मान्छे र सँगुर सँगसँगै एउटै घरमा बस्छन् । वरिपरि फोहोर छ । अहिले हेर्दा पनि उस्तैउस्तै देखियो । त्यो देख्दा मेरो आँसु नै आयो । निकै मन फाट्यो । कतिपय ठाउँमा पढेका युवाहरू पनि रहेछन् । उनीहरूले केही गरौँ भनेर प्रयत्न गर्न खोजेको पनि देखियो । कतिपय ठाउँमा अलिक पाका पुराना मानिसहरू पनि हुनुहँदोरहेछ ।
हाम्रो राजनीतिक नेतृत्व उपदेश दिने र भाषण गर्नमै सीमित छ । वास्तवमा हामी अहिले पनि मध्ययुगीन अवस्थामै छौँ । दुई सय वर्षअघि अरू देश र हामी एउटै अवस्थामा थियौँ तर अहिले उनीहरू कहाँ पुगे ? हामी कहाँ छौँ ? हामीले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेका छैनौँ । यही कुरा यो अभियानमा हामीले महसुस गर्यौँ । तर जनताको आशा अझै मरिसकेको छैन । अभियानका क्रममा नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ताकर्ताले समेत मसँग केही अपेक्षा गरेको पाएँ । उहाँहरूमा मप्रतिको बालसुलभ प्रेम देख्दा म भावुक पनि भएँ । उहाँहरूमा यसले भ्रष्टाचार गर्दैन र निजी स्वार्थ छैन भन्ने धारणा बनाएको पाएँ ।
समकालीन नेताहरूमा तपाईंलाई ‘भिजन’ भएको नेताकै रूपमा हेरिन्छ । तर अहिले जुन नयाँ शक्ति पार्टी नामको नयाँ बाटो समात्नुभएको छ, त्यसबाट फेरि छिट्टै नेतृत्वमा तपाईंको आगमन सम्भव देख्नुहुन्छ ?
कांग्रेस र कम्युनिष्ट भन्ने दुइटा ब्रान्ड जुन नेपालमा स्थापित छन्, यी अन्तर्राष्ट्रिय रूपमै पुँजीवादी र साम्यवादी धारका प्रतिनिधि हुन् । अहिले विश्वमै पुँजीवाद र साम्यवादको युग समाप्त भइसकेको छ । हिजोका दिनमा त्यसले राम्रै गरेको हो । अहिले आर्थिक, सामाजिक, सांस्कृतिक प्रणालीहरू अन्तरसम्बन्धित भएर गइरहेका छन् । यस्तो बेलामा विचारहरू हिजो जस्तै एकांगी भएर मात्र रहन सक्दैनन् । त्यसैले नयाँ विचार लिएर अगाडि बढ्नुपर्छ भन्ने सोच विश्वमा आइरहेका छन् । नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वको स्तरमा पुर्याउने हो भने गुणात्मक फड्को हान्नुपर्छ र विचारमा फड्को नहानीकन यो सम्भव छैन । यही कारण वैकल्पिक राजनीतिका लागि नयाँ शक्तिको परिकल्पना गरिएको हो । हामीलाई बुझ्न केही समय लाग्ला तर छिट्टै नै जनताले बुझ्ने छन् र हामीलाई साथ र अवसर दिने छन् भन्ने लाग्छ ।
मधेसमा पृथकतावादी आन्दोलन चलाइरहेका डा. सिके राउतसँग सरकारले ११ बुँदे सम्झौता गर्यो । सम्झौताको बुँदा नम्बर २ लाई दुई पक्षले आआफ्नै हिसाबले अर्थ्याउँदा अन्योल देखिएको छ । नयाँ शक्ति पार्टीले यसलाई कसरी हेरेको छ ?
नेपालको अवस्थामा सिके राउतले पृथकतावादी नारा लिएर बढ्नु गलत थियो । यस्ता पृथकतावादी नारालाई हामीले सहयोग गर्न सक्दैनौँ भन्ने कुरामा हामी सबै एक थियौँ । उनले जुन गलत बाटो समातेका थिए, त्यसलाई त्यागेर नेपालको संविधानभित्र रहेर अघि बढ्छु भन्छन् भने त्यसलाई स्वागत गर्नुपर्छ ।
तर संशय कहाँनेर भयो भने राज्य विप्लवको मुद्दा खेपिरहेका व्यक्तिलाई अघिल्लो दिन छुटाउने र भोलिपल्टै अत्यन्तै तामझामका साथ जुन सम्झौता गरियो, त्यति हतारमा त्यसो गर्नुपर्ने किन होला ? त्यसका पछाडि के होला ? भन्ने प्रश्नचाहिँ अझै अनुत्तरित नै छ । लोकतन्त्रमा जनअभिमत नै हुन्छ, लोकतन्त्र भनेकै जनअभिमतमै आधारित हो । तर दुई अर्थ लाग्ने गरी जुन शब्द राखियो, त्यसलाई उनले (सिकेले) जनमतसंग्रह भने । जनमतसंग्रह हुन्छ, हुनुपर्छ तर देश विखण्डन गर्ने कुरामा कहीँ पनि जनमतसंग्रह हुँदैन । यस्तो अर्थ लाग्ने गरी जुन शब्द त्यहाँ राखियो, यसले चाहिँ ठूलो शंका पैदा गरेको छ । यसमा सरकारले हतारमा कुनै शक्तिको प्रभावमा वा मधेसमा आफ्नो प्रभाव राख्नका लागि यस्तो सम्झौता गरेको हो कि भन्ने जुन आशंका छ, त्यो गम्भीर प्रकृतिको छ ।
यो सम्झौता नेपाललाई अस्थिरतामा फसाउने खेल हो, यसमा सरकार फस्यो भन्ने कुरा छ नि ?
देशमा शान्ति कायम गरेर अगाडि जान्छु भन्ने मनसाय राम्रो हो । तर सिके राउतका हकमा एउटा मोडालिटी र रेशम चौधरी र विप्लवका हकमा अर्को मोडालिटी जुन अपनाइयो, यो संगतिपूर्ण भएन । यी समस्याको हल सुविचारित प्रक्रियाद्वारा हुनुपथ्र्यो । यसरी हेर्दा उहाँहरू (केपी–प्रचण्ड) ले कतै सीमित दलगत वा व्यक्तिगत स्वार्थका लागि त यो गरिरहनुभएको छैन भन्ने प्रश्न उठ्छ ।
पृथकतावादी आन्दोलन गर्नेलाई चाहिँ सर्वोच्चसँग सेटिङ मिलाएर तुरुन्तै छाड्ने अनि सम्झौता गर्ने, अधिकारको लडाइँ गर्नेलाई चाहिँ थुनामा राख्ने ? थारू विद्रोहमा मान्छे मारिनु त ल गलत भयो । तैपनि थारू अधिकारको लडाइँ थियो त्यो । उनीहरूलाई आजीवन कारावासको गरियो । विप्लव उग्रवामपन्थी धारबाट चलेका छन् तर उनी राजनीतिक मान्छे हुन् । उनलाई त राजनीतिक वार्ताद्वारा समस्या समाधान गरिनुपर्थ्यो । एकैचोटि प्रतिबन्ध लगाएर समाधान हुँदैन । यसर्थ सरकारको भनाइ र गराइमा तारतम्य देखिँदैन ।
नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री स्वयंले आफू र प्रचण्डलाई नै टार्गेट गरेको भनेर मन्त्रिपरिषद्मा भन्नुभयो भनेर समाचार आएका छन् । यो विषयलाई कसरी हेर्नुभएको छ ?
यसरी सोच्नुहुँदैन । नेताले मलाई मार्न आँट्यो भनेर प्रतिशोध लिने, जनतालाई मार्दाचाहिँ हुने भन्ने हुँदैन । प्रधानमन्त्री वा पार्टीका नेता जस्ता मान्छेले त्यसरी सोच्ने कुरा होइन । यद्यपि, चन्दले लिएको बाटो उग्रवामपन्थी बाटो हो, अहिलेको विश्वमा त्यो सम्भव छैन । यो सफल हुँदैन भन्ने कुरामा म प्रष्ट छु तैपनि उनी राजनीतिक अभियान लिएर अगाडि बढेका मान्छे हुन् । अन्य कुरा भनेका सामान्य त्रुटि हुन् । यसलाई राजनीतिक समाधानका उपाय खोजिनुपर्छ ।
जसले संविधान नै मान्दिनँ भनेको छ, उसलाई प्रतिबन्धित गर्नुको के अर्थ ? हिजो हामीले पनि त यसै गरेका हौँ नि !
तपाईं विद्रोह र विप्लवबारे राम्रै जानकार हुनुहुन्छ । प्रतिबन्धपछि भूमिगत जस्तै रहेको नेकपाको शक्तिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
उनीहरूले विजय हासिल गर्न त सक्दैनन् । त्यो पुरानो बाटो भइसक्यो । अहिलेको विश्वमा हतियारबाट र एउटा दलको अधिनायकत्व लागू गर्छु भन्ने बाटो सम्भव छैन । तर जबसम्म समाजमा बेरोजगारी रहन्छ, भ्रष्टाचार र असमानता रहन्छ, हिजोका शान्ति प्रक्रिया पूरा हुँदैनन् । त्यतिबेलासम्म असन्तुष्टि रहिरहन्छ । त्यो असन्तुष्टिको लाभ लिएर युवाहरूको ठूलो संख्या आफूतिर तानिराख्ने र हिजोको जनयुद्धकालमा तालिम, अनुभव प्राप्त गरेका मानिसहरूलाई प्रयाेग गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य उनले राख्छन् ।
यहाँ अशान्ति मच्चाइराख्ने र रक्तस्राव गराएर समस्या सिर्जना गराइराख्ने हैसियतचाहिँ उनले राख्छन् । त्यसैले त्यत्तिकै यो सजिलै दमन भएर जान्छ भन्ने मलाई लाग्दैन । संसारमा कहीँ पनि त्यो भएको छैन । त्यसैले यसलाई कमजोर आँक्न हुँदैन । यसको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कारणलाई सम्बोधन गर्दैै उनीहरूलाई वार्तामा ल्याएरै हल गर्नुपर्छ । अर्को उपाय छैन ।
फेरि एउटा पार्टी कतै युद्धमा जाने त होइन भन्ने त्रास सिर्जना भएको छ । सरकारको अडान हेर्दा तत्काल वार्ता भइहाल्ने पनि देखिँदैन । समाधान के देख्नुहुन्छ ?
राज्यले जनताका सामाजिक, आर्थिक आदि समस्या के हुन्, जसका कारण यस्ता विद्रोह हुन्छन् भन्ने खोज्नुपर्छ । यदि यी कुरा थाहा पाएमा त यस्ता विद्रोह नै हुँदैनन् । तर उहाँहरू (सरकार) पुरानै राजा महाराजाको शैलीमा यी असन्तुष्टि केही पनि होइनन् भनेर यी अपराधी हुन् भन्ने हिसाबले जानुभयो, योचाहिँ उहाँहरूको गम्भीर त्रुटि हो ।
म यदि उहाँहरूको ठाउँमा भएको भए सबैभन्दा पहिला सत्य निरूपण र मेलमिलाप आयोग र बेपत्ता आयोगको काम सम्पन्न गर्थें । हिजोका द्वन्द्वकालका मुद्दा हल गर्थें । यसो गर्दा यो विद्रोहको धेरै समस्या समाधान भइहाल्थ्यो । तर सरकारले जुन पुरानै शैली अपनाएर दमनको बाटोमा गयो, यसले सही निष्कर्षमा पुर्याउँदैन ।
बेरोजगारीका कारण युवाहरू विदेश जान बाध्य छन् । रोजगारीका कारणले पनि मानिस विद्रोही आन्दोलनमा लाग्छन् । राजनीतिक कभरभित्र लुटपाट गर्ने मान्छे बाध्य भएर पनि लाग्छन् । युवाहरूलाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने काम गर्नुपर्छ ताकि युवाहरू बहकिएर विद्रोहमा नलागून् भन्ने वातावरण बनाउन जोड दिनुपर्छ । राज्यसत्ताको जुन खालको भ्रष्टाचार, अनियमितता भइरहेको छ । शिक्षा, स्वास्थ्यमा जुन खालको निम्नस्तरको व्यापारीकरण भइरहेको छ, त्यसलाई रोक्नुपर्यो । यसो गरेपछि विद्रोहको आधा ग्राउन्ड त्यहीँ भत्किन्छ । म भए त्यसो गर्थें । राजनीतिक ढंगले हल गर्थें । यिनीहरूलाई अपराधी नभनीकन तपाईंहरूको बाटो उग्रबामपन्थी बाटो हो, सफल नहुने बाटो हो, यो अनावश्यक बाटो हो, नोक्सानी गर्ने बाटो हो भनेर भन्थेँ । जनतालाई पनि सुसूचित गर्थें । एउटा वातावरण गराउँथेँ तर अहिले सरकार केही पनि नगरीकन एकैचोटि दमन गरेर सिध्याउँछु भन्ने ढंगले गयो । त्यो पुरानै शासकको शैली भयो । यसले ठीक निष्कर्षमा पुर्याउँदैन ।
अन्त्यमा, अब नयाँ शक्ति पार्टी नेपाल कसरी अघि बढ्छ ? यहाँका अरू योजनाहरू के छन् ?
नयाँ शक्ति पार्टी वैकल्पिक राजनीतिक धारका रूपमा स्थापित गर्न हामी उद्यत छौँ । कांग्रेस र कम्युनिष्ट अथवा पुँजीवाद र साम्यवाद पुराना भइसके । त्यसका आधारमा बनेका कांग्रेस र कम्युनिष्ट पार्टीले अबको युगको आवश्यक्ता पूरा गर्न सक्दैनन् । त्यसैले देशमा एउटा वैकल्पिक शक्ति चाहिन्छ । नयाँ शक्ति भनेको एउटा पार्टी मात्र नभएर एउटा विचार र अभियान हो । नयाँ सोच राख्ने, वैकल्पिक सोच राख्ने, देशलाई सुशासन दिँदै राष्ट्रलाई विकास र समृद्धिको दिशामा लैजाने उन्नत प्रकारको लोकतन्त्रमा आधारित त्यस्तो शक्ति निर्माणको अभियानमा छौँ । जनताका विषयहरू उठाएर देशको एउटा विकल्प बन्ने अभियानमा छौँ । आगामी चार वर्षभित्र देशलाई नेतृत्व गर्ने शक्तिका रूपमा आफूलाई अगाडि सार्ने प्रयत्नमा हामी छौँ । त्यहीअनुसार हामी लाग्छौँ ।
हेर्नुहोस् भिडियाे :
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५