काठमाडौं । धरान उपमहानगरपालिकाले अघि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजना अख्तियारको निगरानीमा परेपछि मेयर हर्क साम्पाङ खुलेर आक्रोशित बनेका छन्।
गत मंसिर १४ मा अख्तियारले प्रतिष्ठानको दर्तादेखि आर्थिक क्रियाकलापसम्मको विवरण १५ दिनभित्र बुझाउन निर्देशन दिएपछि साम्पाङ सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्। अख्तियारले रकम अपचलनको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जानकारी पत्रमार्फत दिएको थियो।
साम्पाङले वर्षौंदेखि सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि चन्दा जुटाउँदै आएको उल्लेख गर्दै कुनै व्यक्तिले “नसहेर” उजुरी दिएको आरोप लगाए। भिडियो सन्देशमार्फत उनले भने, “हाम्रो राम्रो काम हेरेर कुन फटाहा, चोर, गधाले उजुरी हालेछ!”
उनका अनुसार, धरानमा फूल रोप्दा, बिरुवा रोप्दा, यहाँसम्म कि ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको थियो। अख्तियारले मागेको कागजात हिजो नै पठाइसकेको बताउँदै उनले यस्ता उजुरी प्रवृत्तिलाई विकासविरोधी मानसिकता भएको टिप्पणी गरे।
साम्पाङले परियोजनाका सबै खर्च–आयका विवरण आफूहरू पारदर्शी रूपमा राख्दै आएको दाबी गर्दै भने, “मसँग कन्सेप्ट र भिजन छ, त्यही सुरुवात गर्दा विकास विरोधीहरूको जथाभावी उजुरी आउने गर्छ। आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा दिन्छन् यहाँ।”
अन्त्यमा उनले लगातार उजुरी गर्नेहरूलाई सन्देश दिँदै भने, “अब यस्ता उजुरी/फुजुरी हाल्नेहरूले चुनावमा माटो चिन्हलाई भोट हालिदिनू — खुरुक्क।”
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०८२