काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले बलियो, अनुभवी र व्यापक रूपमा स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।
उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेलामा बिहीबार काठमाडौँमा सम्बोधन गर्दै उनले हाल देश तथा पार्टी दुवै मोर्चामा चुनौती गहिरिँदै गएको भन्दै त्यसलाई सामना गर्न सक्षम, स्थिर र रणनीतिक नेतृत्व अपरिहार्य भएको स्पष्ट पारे।
उनका अनुसार अहिलेको घडी व्यक्तिगत महत्वाकांक्षा, रहर वा प्रतिस्पर्धाका बहानामा नेतृत्व परिवर्तनको बहस गर्ने समय होइन। पोखरेलले भने, ‘अहिलेकै चुनौतीलाई सामना गरेर अनुकूल अवस्था बनाइसकेपछि नेतृत्वमा आउन चाहने हामी सबै फेरि प्रतिस्पर्धा गरौँला। तर अहिले पार्टीलाई संकटसँग जुध्न सक्ने बलियो नेतृत्व चाहिएको छ।’
महासचिव पोखरेलले नेतृत्वमा आउन इच्छुक साथीहरूको आकांक्षालाई लक्षित गर्दै प्रतिस्पर्धा खुला रहेको भने पनि, त्यसले पार्टीको मूल चुनौती र जिम्मेवारीदेखि ध्यान नहटाउनु पर्नेमा जोड दिए।
पार्टी संगठनको अवस्था उल्लेख गर्दै उनले समस्या तल्लो तहमा नभई उच्च तहमा बढी देखिने गरेको बताए। उनका अनुसार, ‘संकटको समयमा तल्लो तहका कार्यकर्ताको मनोबल बलियो रहन्छ, तर माथिल्लो तह प्रायः विचलित हुन्छ। यही कार्यकर्ताले पार्टीको रक्षा गर्छन्।’
कार्यक्रममा पोखरेलले एमालेले बनाएको नीति अहिलेका चुनौती समाधान गर्न सक्षम र स्पष्ट रहेको दाबी गरे। उपत्यका विशेष प्रदेश कमिटीकी इन्चार्ज सुजिता शाक्यले नेतृत्वलाई अझ सबल बनाउँदै आगामी महाधिवेशन सफल बनाउने अभिव्यक्ति दिइन्। कमिटीका अध्यक्ष प्रेम पराजुलीले महाधिवेशन सफल बनाउन सबै तहका कार्यकर्ताको समन्वय र सक्रियता आवश्यक रहेको बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०८२