नयाँ दिल्ली । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने आधिकारिक भारत भ्रमणका लागि बिहिबार साँझ नयाँ दिल्ली आएका छन्। उनी स्थानीय समयअनुसार साँझ ६:३५ बजे पालम विमानस्थलमा अवतरण गरेका हुन्।
पुटिनको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेका थिए। उच्च स्तरको सुरक्षा बीच मोदीले उनको स्वागत गर्दै नम्र अभिवादन गरे। लामो समयपछि पुटिन र मोदीबीच प्रत्यक्ष भेटघाट भएको हुनाले यो स्वागतलाई भारतले उच्च कूटनीतिक संकेतका रूपमा लिएको बताइन्छ।
स्वागतपछि दुवै नेता एउटै गाडीमा सवार भएर विमानस्थलबाट सिधै विदा भएका थिए। यसबाट दुई देशबीचको व्यक्तिगत र राजनीतिक निकटता झल्किएको विश्लेषकहरूको टिप्पणी छ।
आजै साँझ प्रधानमन्त्री मोदीले पुटिनका लागि निजी रात्रीभोज आयोजना गरेका छन्, जहाँ दुवै नेताबीच अनौपचारिक रूपमा समसामयिक द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस भ्रमणको मुख्य आकर्षण भने शुक्रबार हुने शिखर बैठक हो, जहाँ ऊर्जा, रक्षा सहयोग, व्यापार विस्तार, र भू–राजनीतिक समीकरणबारे महत्वपूर्ण सहमति बन्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०८२