भोजपुर : भोजपुर जिल्ला अदालतले जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला सुनाएको छ ।
गत भदौ १ गतेबाट लागु भएको नयाँ मुलुकी अपराध संहिता अनुसार जिल्ला अदालतले जन्मकैदको पहिलो फैसला सुनाएको हो ।
जिल्ला अदालत भोजपुरका जिल्ला न्यायाधीश हरीशचन्द्र इङनामको इजलासले बुधबार साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ का राईलाई जबर्जस्ती करणी उद्योगमा आठ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको जिल्ला अदालत भोजपुरका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।
अदालतले पीडकबाट जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने ठहरसमेत गरेको निमित्त स्रेस्तेदार कोइरालाले बताए । राईले सोही ठाउँकी नातामा आफ्नै भान्जी पर्नेसँगै सुतेकी ११ वर्षीय रचना राईलाई गत भदौ १० गते करणीपश्चात् हत्या गरेका थिए ।
जिल्ला न्यायाधीश इङनामको इजलासले मुलुकी अपराध संहिता ऐन, २०७४ को भाग (२) परिच्छेद १८ को दफा २१९ (३) (ख) बमोजिम जबर्जस्ती करणी उद्योगमा सजाय सुनाएको हो । प्रहरीले राईलाई गत भदौ १२ गते पक्राउ गरेको थियो । हत्या गरिएकी बालिका आमा धनमती र सौतेलो बाबु राजन राईसँग बस्दै आएकी थिइन् ।
यता जिल्ला अदालतले मुद्दा फछ्र्यौट प्रक्रिया समेत चाँडो गर्ने गरेको छ । चालु आर्थिक वर्षमा भोजपुर जिल्ला अदालतमा दुई सय २७ वटा मुद्दा दर्ता भएकामा एक सय ६५ वटा फछ्र्यौट भइसकेका छन् । मुद्दा समयमा नै फछ्र्यौट हुन थालेपछि संख्यासमेत घट्दै जान थालेको अदालतले जनाएको छ ।
जिल्ला अदालतमा माघ मसान्तसम्ममा सम्बन्धविच्छेदका ७० मुद्दा दर्ता भएका थिए । जसमा ५० महिला र २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । यसैगरी अदातलमा आएका ४९ वटा मेलमिलापका मुद्दामध्ये २४ वटा मुद्दामा भने मेलमिलाप भएको छ भने १९ वटा असफल भएका छन् ।
अदालतका अनुसार माघ महिनासम्म जरिवानाका लागि फैसला भएका मुद्दामा १९ लाख ९८ हजार एक सय ५१ रुपैयाँ असुल भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५