बनेपा ः काभ्रेपलाञ्चोकका ३ नगरपालिका बनेपा, धुलिखेल र पनौतीका बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजित परियोजनाको म्याद ७ पटक थप्दा पनि कार्य पूरा भएको छैन । विगत ६ वर्षअघि सुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पटक पटक म्याद थप्दा समेत सम्पन्न नहुने भएको छ ।
२०७० जेठ २९ गतेबाट कार्य प्रारम्भ भएको सो खानेपानी आयोजना २०७२ साल जेठ ३२ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो तर अहिलेसम्ममा ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायणसुन्दर श्रेष्ठले बताए । ‘अहिलेको निर्माण कार्यको म्याद थप सातौंपटकको हो,’ श्रेष्ठले भने, ‘अहिलेसम्ममा भौतिक प्रगति (संरचना र पाइप लाइन बिच्छ्याउने काम सबै गरेर) ९५ प्रतिशत भएको छ ।’ त्यससँगै वित्तीय प्रगति (खर्च) ७२ प्रतिशत भएको उनको भनाइ छ ।
त्यसरी काम भइरहेको सो आयोजना आगामी २०७६ जेठ १७ गते सम्पन्न गरी सक्नुपर्नेछ । ५ प्रतिशत भौतिक काम (पाइप लाइन नै बिच्छ्याउने) बाँकी रहेको सो आयोजनाको मुहानबाट क्षेत्रीय पानी प्रशोधन केन्द्रमा पानी ल्याएर जाँच गर्न मात्रै ३ महिना लाग्ने आयोजना प्रमुख श्रेष्ठले बताए ।
समय अवधिको हिसाबले सातौंपटक तोकिएको समयमा पनि काम सम्पन्न गर्न नसकिने आयोजना प्रमुख श्रेष्ठले बताए । एकातिर निर्माण कार्यको समय लम्बिँदै जानु र अर्कोतिर खर्च पनि बढ्दै जानुले पानी आउने आस मर्दै गएको उपभोक्ताको भनाइ छ । बनेपा नगरपालिका–८ का जयकृष्ण मानन्धरले भने, ‘एकातिर अहिले उपभोग गर्दै आइरहेको नेपाल खानेपानी संस्थानको धमिलो लेदो मिसिएको पानीलाई खानयोग्य नभए पनि पैसा तिरिरहनुपर्छ, अर्कोतिर एकीकृत खानेपानीले बाँडेको आशा वर्षौं भइसक्यो ।’
बनेपामा खानेपानीको हाहाकार भएकाले घरधनीदेखि भाडामा बस्ने नजिकैको ढुङ्गेधारा धाउन बाध्य छन् । ‘भएको खानेपानी पनि फोहर लेदो मिसिएको आउने र ढुङ्गेधारामा जान पनि धेरै टाढा भएकै कारण बनेपामा भाडामा बस्न नसक्ने स्थिति भएको प्रतीक तामाङले बताए ।
सुरुमा काभ्रेपलाञ्चोक जिल्लाको ३ नगरपालिकाका गरी कुल ९२ हजार ८३० जनसंख्यालाई पानी खुवाउने गरी आयोजना निर्माणको सम्झौता भएकोमा पछि बनेपा नगरपालिका र पनौती नगरपालिकाको केही वडा थप भएपछि अहिले १ लाख ३९ हजार ४२२ जनसंख्यालाई खानेपानी पुर्याउने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । नेपाल सरकार, एसियाली विकास बैंक (एडिबी), ३ वटा नै नगरपालिका र काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको गरी अहिले कुल १ अर्ब १२ करोड ६०० को लगानी हुने जनाएको छ । -रासस
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५