काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा पाटन सङ्ग्राहालयमा ‘सिजन’ चित्रकला प्रदर्शनी आज सुरु गरेको छ ।
यही फागुन २८ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ७७ महिला कलाकारले सिर्जना गरेका विभिन्न किसिमका ७७ चित्र समावेश गरिएका छन् । प्रदर्शनीमा महिला हिंसा, हत्या, दुव्र्यवहार तथा बलात्कारका घटना, पीडा, नारी वेदना, उनीहरूको सङ्घर्ष, समाज रुपान्तरणमा महिलाको भूमिका रहेका चित्र समावेश गरिएका छन् ।
वरिष्ठ कलाकार रागिनी उपाध्याय, शारदा चित्रकार, चन्दा श्रेष्ठलगायत महिलाले शहर तथा ग्रामीण भेगमा देखेका र भोगेका अनुभवलाई आधार बनाएर दुःख तथा सफलताका विषय वस्तुलाई विम्ब बनाएर चित्र मार्फत अभिव्यक्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेतृ अष्टलक्ष्मी शाक्यले प्रदर्शनीको उद्घाटन गर्दै कलाका माध्यमबाट शान्तिपूर्ण समाज निर्माण गरी त्यसलाई गतिशील बनाएकाे बताइन् ।
प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समाजमा महिलाले विभिन्न भूमिका पूरा गर्नुपर्ने हुँदा कलाकारिता क्षेत्रलाई निरन्तरता दिन कठिन रहेको अवस्थामा पनि चित्र सिर्जना गरेकामा त्यसको सराहाना गरे। विभागका प्रमुख सुषमा राजभण्डारीले मुलुकमा भएका सबै राजनीतिक परिवर्तनमा महिला समुदायको उल्लेखनीय भूमिका रहेको भए पनि नीति निर्माणका तहमा उनीहरुको पहुँच नभएको बताए । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका सर्वसाधारणको प्रदर्शनीमा उल्लेखनिय सहभागिता पाइएको छ ।
-रासस
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५