पर्सा : उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
२०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए ।
हरी उपरीक्षक रेवती ढकालका अनुसार केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको हाे । सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको जानकारी दिए ।
पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले बताए ।अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५