वालिङ : जनतालाई सेवा दिनुपर्ने सरकारी कार्यालयमा रहेर सेवा दिनुको साटो उल्टै लाखौं रकम लिई ठगी गरेपछि प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट ४९ लाख २० हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका-३ घर भई फेदीखोला गाउँपालिका स्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकी श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई पक्राउ गरेको हो ।
निज दम्पतीले नगरपालिका-३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी अनेक प्रलोभन देखाई ८ जनाबाट विभिन्न मितिमा रकम लिएका थिए । तर दम्पतीले देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेपछि पीडित मञ्जु गोदार तथा अन्यले दिएको जाहेरीका आधारमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदीखोला गाउँपालिका-२ की मञ्जु गोदारबाट १५ लाख, सावित्री दर्जीबाट ३ लाख ३० हजार, चुनुमाया गोदारबाट ३ लाख ५५ हजार, वेदप्रसाद गौतमबाट ३ लाख, कृष्ण महत थापाबाट ४ लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट ७ लाख, रुकुमको मुसिकोट नगरपालिका-१ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-८ मा डेरा गरी बस्ने रेशम रावलबाट २ लाख ७५ हजार गरी कुल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको छ । - रासस
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५