दमौली: तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् ।
सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित भएका हुन् । सबैभन्दा बढी कक्षा १० मा अध्ययनरत १५ विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन् ।
त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने सात र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको उनले जानकारी दिए । उनले भने, सबै कक्षाका गरी ५० भन्दा बढी विद्यार्थीलाई यो समस्या देखिएको छ ।
उनका अनुसार बुधबार पनि कक्षा ४ र ५ का दुई÷तीन विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन् । होस्टेलमा बस्ने विद्यार्थीमा एउटालाई ज्वरो आएपछि अर्को विद्यार्थीलाई पनि सोही समस्या देखिएको थापाले जानकारी दिए। उनले भने, एउटा विद्यार्थीबाट अरु विद्यार्थीमा ज्वरो फैलिएको हुन सक्छ ।
उहाँका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ । सोही वडामा रहेको घिरिङ स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा बिरामीको उपचार गराइएको छ । बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ ।
घिरिङ स्वास्थ्यचौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल ज्वरो र इन्फ्लुएन्जा भएको जानकारी दिनुभयो । उनले भने, यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्यचौकीबाटै उपचार सेवा दिएका छौँ । -रासस
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५