आज हाम्रो (सोमबार २० फागुन) देश नेपालको केन्द्रीय राजधानी काठमाडौंको पशुपति मन्दिरमा सदाझैँ धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । आजकै दिन नेपाली सेनाले पनि आप्mनो स्थापना दिवस अर्थात् ‘सेना दिवस’ मनाउने गरेको छ । स्मरणीय छ, नेपालमा यो क्रम विगत लामो समय (आदि अनादि काल)देखि परम्परागत रूपमा चल्दै आएको छ । त्यसो त पशुपतिनाथबाहेक भक्तपुरको डोलेश्वरलगायत देशका अन्य विभिन्न क्षेत्रमा पनि महाशिवरात्रि पर्व मनाउने गरिन्छ । महाशिवरात्रि मनाउनुको खास कारण वा कथा भने देउता र राक्षसहरूबीच समुद्र मन्थन हुँदा निस्किएको ‘कालकूट’ नामक विष कसले पिउने भन्ने सवाल हुँदा न त राक्षसहरूले पिउन माने, न देउताहरूले नै । अन्ततः देवादिदेव महादेवले सो कालकूट नामक विष पिए । त्यसरी देवादिदेव महादेवले सो विष नपिएको भए संसारमा ध्वंस हुन्थ्यो भनियो । यसरी देउता र राक्षसहरूबीच समुद्र मन्थन हुँदा निस्किएको ‘कालकूट’ नामक विष पिएर संसारको बचाउ गरेको हुनाले सो दिनको सम्झनामा महाशिवरात्रि पर्व मनाउन सुरु गरियो भन्ने भनाइ छ ।
तर यहाँ असलियतमा शिव को थिए ? उनी भगवान् हुन् कि होइनन् ? भगवान हुन् भने उनलाई कहिलेदेखि भगवान् मान्न थालियो ? साथै शिवलाई भगवान् नै मान्ने हो भने पनि उनी हिन्दुहरूका मात्रै भगवान् हन् कि किरातीहरूका पनि हुन् ? यसबारेमा नेपाली समाजमा सायदै गहिरो ढंगले बहस र छलफल भएको छ । सायदै निचोडमा पुगिएको छ ।
हुनत हाल भगवान् मानिएका शिवलाई प्रायः सबै किराती समुदायले पारुहाङ भनी पुकार्छन् भने हिन्दुहरूले पार्वती भनिने देवीलाई किरातीहरूले सुम्निमा भनी पुकार्छन् । त्यसो त कुनै पनि विषयमा सधैँका लागि छिनोफानो हुने गरी बहस र छलफल हुन सक्दैन भन्ने हामीले भुल्नुहुँदैन । झन् भगवान्, धर्म, धार्मिक मत, धार्मिक सम्प्रदाय, धार्मिक मूल्य–मान्यताका बारेमा त किटेर यही नै हो भनी मत जाहेर गर्नुभन्दा सजिलो छैन । भगवान्, धर्म, धार्मिक मत, धार्मिक सम्प्रदाय, धार्मिक मूल्य–मान्यताका बारेमा अनन्त कालसम्म बहस र छलफल भइरहने छ । तापनि गुगल गर्दा जसरी इस्लाम धर्मका प्रवर्तक मोहमम्द कुरैशी वंशका थिए, बुद्घ धर्मका प्रवर्तक वा सुरुवातकर्ता गौतम बुद्घ शाक्य वंशका थिए, हिन्दु धर्मका प्रवर्तक भगवान् शिव पनि किरात वंशका थिए भनी लेखिएको÷भनिएको भेटिन्छ । जे होस्, माथि नै उल्लेख भएझैँ नेपालको केन्द्रीय राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा सदाझैँ धुमधामका साथ मनाइने महाशिवरात्रि पर्व आदि अनादिकालदेखि मनाउँदै आएको एउटा परम्परा हो ।
त्यस्तै, विगत लामो समयदेखि महाशिवरात्रि पर्वको अवसरमा राज्यले नै टाढाटाढाबाट आएर लगभग एक हप्तासम्म पशुपतिनाथ मन्दिर र यसको वरिपरि समय बिताउने सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबा, यीमध्ये कति जटाधारी हुन्छन्, कति नांगा हुन्छन्, उनीहरूलाई शिव बुटी –गाँजा, भाङ), चिया, पानी, भोजन, आवास, धुनी बाल्न ठूलाठूला मुढा (दाउरा), ओढ्ने, ओछ्याउनेलगायत सरसमान उपलब्ध गराउँछ । साथै जाने बेलामा दान–दक्षिणा र भेटी पनि दिन्छ । उता, सरकारले महाशिवरात्रि पर्वको सार्वजनिक बिदा पनि दिने गरेको छ । जे होस्, असलियतमा शिव को थिए त ? छोटो चर्चा गरौँ ।
भगवान् शिवको वंश किरात हो भनिएको छ भनी माथि गुगलमा खोज्दा भेटेको सन्दर्भ–स्रोतका बारेमा उल्लेख गरियो । शिवका बारेमा के भन्ने गरिन्छ भने ‘शिवका आमा र बाबु थिएनन् ।’ उनी आफैँ उत्पत्ति भएका अर्थात् भुइँफुट्टा थिए । त्यति मात्रै होइन, भगवान् शिवले नै ब्रह्मा र विष्णुको उत्पत्ति गराए वा भनौँ जन्माए । भगवान शिव संहारक थिए भने ब्रह्मा सृष्टिकर्ता थिए । त्यस्तै, विष्णु पालनकर्ता थिए । तापनि हालसम्म लिखित रूपमा शिव किरात नै थिए भन्ने प्रामाणिक रूपमा केही भेटिँदैन । तथापि, भगवान् शिवले बोक्ने हतियार त्रिशूल, उनले बजाउने बाजा (डम्मरु), उनले सेवन गर्ने भाङ, धतुरो, गाँजा वा भनौँ नशालु पदार्थ, उनले रूप धारण गर्ने विभिन्न स्वरूपहरू, उनले वाहनको रूपमा प्रयोग गर्ने साँढे (नन्दी), उनले लगाउने वस्त्र (बाघको छाला) आदि हेर्दा उनी किराती नै हुन् भन्न सकिने आधार भने बलियो देखिन्छ । हुनत भगवान शिव हिन्दु हुन् भन्ने पनि केही दसी–प्रमाण छैन– कथा मिथकहरूबाहेक । यद्यपि, शिवका बारेमा लेखिएको ‘शिव पुराण’ भन्ने किताब नभएको भने होइन ।
जे होस्, शिव खासमा कैलाश पर्वतमा बस्थे । कैलाशबाटै ‘कैरात’ ‘किरियाड’ हुँदै ‘किरात’ भएको भन्ने धेरै खोजकर्ता, अनुसन्धानकर्ता, इतिहासकार, लेखक आदिको बलियो मत छ । धेरै विद्वानहरूले आप्mनो किताबमै पनि यसबारेमा उल्लेख गरेका छन् । तर शिव कहिलेदेखि भगवान् भए ? वा उनलाई कहिलेदेखि भगवान् मान्न थालियो ? ठ्याक्कै तिथिमिति भन्न सकिने कुरो भएन । जे भए तापनि शिव कैलाश पर्वतमा बस्ने भएका हुनाले ऋतुअनुसार उनले जाडो छल्न गाँजा, भाङ, धतुरो जस्ता नशालु पदार्थको सेवन पनि गर्थे होलान् । त्यही भएर भगवान् शिवलाई सम्झने दिनको रूपमा महाशिवरात्रि पर्वको बेला सबै सर्वसाधारण मानिसहरूलाई दिन नसके तापनि कम्तीमा भगवान् शिवका पक्का भक्तहरू सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूलाई कानुनी रूपमै निश्चित परिणाम तोकेर गाँजा दिने परम्परा बसेको हुनसक्छ । अझ यसरी टाढाटाढाबाट, खासगरी भारतबाट आएका सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूलाई त पशुपति विकास कोषले बाटो खर्चसमेत दिएर बिदाइ गर्ने गरेको छ ।
हुनत महाशिवरात्रिको कुरो गर्दा यस पटक धेरैपछि महाशिवरात्रि संयोगले ‘सोमबार’का दिन परेको छ । हिन्दु धर्ममा रहेको मत वा विश्वासअनुसार ‘पाश’ अर्थात् विभिन्न बन्धनमा परेकाहरूले आजकै दिन पशुपतिनाथको दर्शन गरेमा ‘पाश’ अर्थात् त्यस्ता विभिन्न बन्धनहरूबाट मुक्ति पाउँछन् भन्ने विश्वास रहेको छ । संभवतः यही धार्मिक विश्वास र मान्यताका कारण यस पटक भारतलगायत श्रीलंका, म्यानमार, माल्दिभ्स, मलेसिया, इन्डोनेसियालगायत टाढाटाढाका हिन्दु धर्ममा आस्था राख्ने सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूका साथै सर्वसाधारण भक्तजनहरूको पनि ठूलो उपस्थिति हुँदै छ भन्ने पढ्न पाइएको छ । त्यसबाहेक नेपाली हिन्दु भक्तजनहरूको पनि हरेक वर्ष ठूलै भीड लाग्ने गरेको छ, महाशिवरात्रि पर्वको अवसरमा– पशुपतिनाथ मन्दिर क्षेत्रमा ।
सुरुमा आर्य, हिन्दु वा बाहुनहरूले नै शिवलाई भगवान् मानेर महाशिवरात्रि मनाउने परम्परा चलाएको मान्ने हो भने पनि सुरुमा हिन्दुहरू पनि दुई खाले थिए भनी बताउँछन्, किरात इतिहास तथा किरात संस्कृतिमा रुचि राख्दै र खोज अनुसन्धान गर्दै आएका र स्थायी घर भोजपुर जिल्ला भएका जय शिवाहाङ । उनका अनुसार रामायण लेख्ने वाल्मीकि ऋषि पनि अवैदिक बाहुन थिए । त्यस्तै, हाल धिताल थरका भनी चिनिने बाहुनहरू पनि अवैदिक बाहुन हुन् । पछि गएर वैदिक आर्य वा भनौँ हिन्दु बाहुनहरूले यज्ञोपवित गरेर÷भएर (यज्ञ, होम आदि गरेर), जनै लगाएर फरक अर्थात् वैदिक आर्य भए । यसरी वैदिक आर्यहरू सुरुमा किरातीभन्दा फरक देखिन वा फरक हुनकै लागि पनि यज्ञ, होम गरेर र जनै लगाएर फरक देखिए तापनि रामायण लेख्ने वाल्मीकि ऋषिले भने आफूलाई अवैदिक र किरात नै हुँ भन्ने गरेका थिए भन्ने धेरैजसो जान्ने बुझ्ने बाहुन (पण्डित/उदारवादी बाहुन)हरूले नै अनौपचारिक रूपमा भन्ने गरेका छन् ।
यसरी हेर्दा हाल आएर भगवान् शिवको नाममा ‘महाशिवरात्रि पर्व’ अधिकांश हिन्दुहरूले मनाउने गरेको देखिए तापनि खासमा शिव भनेका किरातीहरूको आदि पुरुष पारुहाङ नै हुन् भन्ने देखिन्छ । यसको बलियो वा भनौँ तथ्यसहितको आधार वा प्रमाण यही हो भनी देखाउन नसके तापनि वैदिक आर्य बाहुन हिन्दुहरूले मद वा भनौँ नशा सेवन गर्दैनथे/गर्दैनन् । यो तथ्य सबैलाई थाहा भएकै हो । तर इतिहासमा अनार्य, व्रात्य, भिल्ल, कैरात्य, राक्षस आदि भनी चिनिएका वा चिनाइएका किरातीलगायत आदिवासी जनजातिहरू मद वा नशा सेवन गर्छन् ।
यो पनि सबैले जानेबुझेको तथ्य हो । यो प्रसंग किन उल्लेख गरिएको हो भने केही वर्षअघिसम्म महाशिवरात्रि पर्वमा भारतलगयात टाढाटाढाका हिन्दु धर्ममा आस्था राख्ने सन्त, महन्त, सन्यासी तथा योगी–जोगी वा भनौँ बाबाहरूले सेवन गर्ने गाँजा, भाङ, धतुरो जस्ता नशालु पदार्थ नेपाल सरकार (पशुपति विकास कोष)ले नै उपलब्ध गराउँथ्यो । त्यति मात्रै होइन, महाशिवरात्रि पर्वको दिन खुला रूपमा गाँजा खान पाइने लोभमा धेरैभन्दा धेरै युवाहरू बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाडका साथ उपस्थित हुन्थे । आजभोलि भने प्रहरी प्रशासनले खुला रूपमा गाँजा, भाङ, धतुरोलगायत नशालु पदार्थ जथाभावी बेच्न दिँदैन ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५