विराटनगर : मोरङको पथरी–शनिश्चरे र सुनवर्षी नगरपालिकाका चन्द्रप्रसाद, बज्रु र वासुदेव गन्गाईको घर छेउको सानो करेसाबारी । करेसाबारीमा बाक्लै रोपिएका लहलहाउँदो लसुनका बोटहरू । त्यही लसुनबारीमा फूलेका सुन्दर सेता फूलहरू, त्यही सेतो फूलभित्र लुकेको अपराध ।
घटना हो, गत फागुन १३ गतेको । पथरी–शनिश्चरे नगरपालिका वडा नम्बर ५ का चन्द्रप्रसाद, सुनवर्षी नगरपालिका वडा नम्बर २ को बज्रु र सोही वडाको बासुदेव गन्गाईको करेसाबारीमा एक्कासी प्रहरीको टोली पुग्यो । मोरङ रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्की र पथरीका प्रहरी निरीक्षक कमल बजगाईंको नेतृत्वमा गएको प्रहरी टोली पुग्नासाथ स्थानीय अचम्मित भए । न कुनै घटना, न कुनै आपराधिक गतिविधि, एकाएक प्रहरीको टोली गाउँमा पस्दा स्थानीयलाई जिज्ञासा र कौतुहलता हुनु स्वभाविक थियो । तर जब लसुनबारीमा अपराधको फूल फुलेको स्थानीयले चाल पाए, तब उनीहरूले वास्तविकता बुझे ।
चन्द्रप्रसादको सात धुर, बज्रुको चार धुर र वासुदेवको एक कठ्ठा जमिनमा फुलेका फूलका बोटहरू अरू केही नभएर अफिमको बोट भएको वास्तविकता खुलेपछि स्थानीयले पनि प्रहरीलाई अफिमका बोटहरू उखेल्न सहयोग गरे । त्यहाँ रोपिएका अफिमका बोटहरू व्यावसायिक रूपमै खेती गरिएको प्रहरीको दाबी छ । प्रहरी निरीक्षक कवीन्द्र कार्कीले त्यहाँबाट तीन हजार ३४ अफिमका बोट नष्ट गरिएको जानकारी दिए ।
प्रहरीले अवैध लागूऔषध अफिमको खेती गरेको आरोपमा ५० वर्षीय चन्द्रप्रसाद र ५२ वर्षीय बज्रु गन्गाईलाई पक्राउ गरेको छ । अर्का आरोपी ३५ वर्षीय वासुदेव गन्गाई भने फरार छन् । पक्राउ परेकालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत मुद्दा चलाइएको छ ।
लुकेको अपराध
प्रायजसो विकट तथा सीमावर्ती क्षेत्रमा गरिने अफिम खेतीलाई प्रहरीले ‘लुकेको अपराध’ को संज्ञा दिदै आएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले अन्य खेतीहरूमा मिसाएर गरिने अफिम खेती आम मानिसका लागि त्यति चासोको विषय नहुने बताए । उनले भने, ‘धेरैलाई अफिम खेतीको विषयमा थाहा नै हुँदैन, मानिसले देखे भने पनि आहा कति सुन्दर फूल भन्छन्, तर त्यही फूलमा अपराध लुकेको हुन्छ ।’
केही वर्ष पहिलेसम्म सीमावर्ती जिल्लाहरू बारा, पर्सा, रौतहटतिर अफिमको खेती हुने गरेको थियो । तर प्रहरीको सक्रियताका कारण सो क्षेत्रबाट विस्थापित भएको अफिम खेती मध्य पहाडी जिल्लाहरू प्युठान, जाजरकोट, रुकुम, डोल्पातिर सरेको छ । लागूऔषधका तस्करहरूले स्थानीयलाई प्रयोग गरी प्रहरीको आँखा छल्ने मनसायले स्थान परिवर्तन गरेको प्रहरीको बुझाइ छ । लामो समय लागूऔषध नियन्त्रण शाखा काठमाडौंमा काम गरेका प्रहरी नायब उपरीक्षक श्रेष्ठको दाबी छ, ‘तस्करहरूले अहिले पूर्वका जिल्लालाई पनि लक्षित गरेको देखियो ।’
मुख्यतः भारतीय बजारमा नै अफिमको कारोबार हुने गर्दछ । अफिमको बोट रोप्ने र कच्चा पदार्थ उत्पादनका लागि नेपाली भूमि प्रयोग गर्ने तथा प्रशोधनको कार्य भने भारतमा हुने प्रहरीको दाबी छ । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार अफिम उत्पादनको मुख्य स्रोत ‘पप्पी’ हो । वयस्क भएपछि फुलेको अफिमको दानाबाट अफिम निकालिन्छ । वयस्क बिरुवाको पप्पीलाई चिर्दा कालो चोप आउँछ । त्यही चोपबाट खैरो र सेतो हेरोइन बनाउने गरिन्छ । यसरी उत्पादन गरेको अफिम अवैध बाटो हुँदै भारतसम्म पुग्ने गरेको छ ।
प्रहरीका अनुसार एक कठ्ठा जमिनमा लगभग दुई केजी अफिम उत्पादन हुन्छ । नेपाली बजारमा अवैध रूपमा अफिम प्रति केजी १ लाख रूपैयाँसम्म कारोबार हुने गरेको छ । लागु औषध ऐन २०३३ अनुसार २५ बोटसम्म अफिमको खेती गरेको भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना तथा २५ बोटभन्दा माथि जतिसुकै भए पनि तीन वर्षदेखि १० वर्षसम्म कैद र २५ हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५