काठमाण्डौ:सरकारी चिकित्सक संघ नेपाल (गाेदान) ले माग सम्बोधनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आएको संघले ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने बताएकाे छ । त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाएको छ ।
कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ । चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुष २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो ।
सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५