काठमाडौं : स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका अस्पतालहरूको आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेका छन्।
उनीहरूले शुक्रबार बिहान करिब १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान) का अध्यक्ष डा.दिपेन्द्र पाण्डेले स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवा बहिष्कार गर्नुपरेको बताए ।
सरकारी चिकित्सकहरूले आफूहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत १ महिनायता विरोध प्रदर्शन र धर्नासहितको कार्यक्रम गर्दै आएका छन् । उनीहरुले अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरूको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५