पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । हाम्रो खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ख्याल गरेमा ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
कारण
– खाना हतारमा खानुहुन्छ भने अबदेखि विस्तारै खाने गर्नुहोस् । हतारमा खाना खानेहरूमा एसिडको मात्रा बढ्ने र यसले गर्दा पेटमा ग्यास भरिने समस्या हुन्छ ।
– राती अबेरसम्म नसुत्ने र बिहान धेरै बेरसम्म सुत्नेहरूमा ग्यास भरिन्छ ।
– धेरै तनावमा रहनेहरूमा ग्यास भरिने समस्या बढ्न जान्छ ।
– निरन्तर कुर्सीमा बसेर काम गर्नेहरूमा राम्रोसँग खाना पच्दैन । उनीहरूमा पनि ग्यास भरिने समस्या हुन्छ ।
यी खानेकुराले बढाउँछ ग्यास
आलु : धेरै आलु खानेहरूमा ग्यास भरिने समस्या अधिक मात्रामा हुन्छ । यसमा स्टार्चको मात्रा अधिक हुने भएकाले ग्यास पनि उत्तिकै उत्पन्न हुन्छ ।
राज्मा : राज्मा हामी तरकारीको रूपमा खान्छौँ तर अरू दालको तुलनामा राज्माबाट ग्यास उत्पादन बढी मात्रामा हुन्छ । राज्मा पच्नका लागि धेरै समय लाग्ने भएकाले ग्यास उत्पादन बढी मात्रामा हुन्छ ।
दूध : दूध धेरै खानेहरूको पेटमा ग्यास भरिन्छ । दूधमा पाइने लेक्टोज पच्न धेरै समय लाग्छ र ग्यास भरिन्छ ।
गोभी : फूलगोभीमा रेफिनोजको मात्रा अधिक हुन्छ । यो खानाले ग्यास धेरै मात्रामा बढाउँछ ।
स्याउ : फलफूल खानेहरूमध्ये धेरैले स्याउ पनि अधिक मात्रामा खान्छन् तर धेरैलाई थाहा छैन, स्याउ पच्नका लागि धेरै समय लाग्छ र ग्यास उत्पादन भई पेट भरिन्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५