अनेरास्ववियुभित्र दोस्रो तहको नेतृत्वमा भएपनि हाल नेतृत्वमा रहेका सबै नेताहरुभन्दा अनुभवी, क्रियाशील र परिपक्व नेताको रुपमा परिचित विद्यार्थी नेता हुन्- आर.सी. लामिछाने । लामिछाने नेकपा निकट विद्यार्थी संगठनको एकताको सरगर्मी बढिरहेका बेला संगठनको भावी नेतृत्व सहमतिका आधारमा चयन हुनुपर्ने धारणा राख्छन् । स्कूले जीवनदेखि नैं कम्युनिष्ट विचारधाराबाट प्रभावित भएर अनेरास्ववियुमा संलग्न भएका लामिछानेसँग वर्तमान संगठन एकता प्रक्रिया, एकतापछिको संगठनले तय गर्नुपर्ने कार्यदिशा र समग्र विद्यार्थी आन्दोलनका विविध आयामहरुमा केन्द्रित रही आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :
अखिल र क्रान्तिकारीबिचको एकता बीरबलको खिचडीजस्तो किन भइरहेको छ ?, कहिले लाग्छ टुंगो ?
– हामीहरु बिचको एकताको वातावरण मूलतः मुलुकका दुई शक्तिशाली पार्टीहरु बिचको एकताले सम्भव गराएको हो । पार्टीको एउटा निश्चित खाका तयार हुँदै गर्दा पार्टीले अवलम्बन गरेको विचारलाई व्यवहारमा कार्यान्वयन गर्नका निम्ति पार्टीकै स्पीरिटमा हाम्रो एकता अनिवार्य छ र त्यही अनुरुप अघि बढ्दैछ । एकताका निम्ति पार्टीले एउटा मूल मार्ग तय गरेको छ, त्यसलाई व्यवहारिक हिसाबले पुष्टि गर्नका लागि हामी लागिरहेका छौं । यूगले हिँडाउन खोजेको एकताको बाटो दीर्घकालीन रुपमा महत्वपुर्ण र परिपक्व बनाउनका निम्ति हामीले हतारमा एकता गर्न खोजिरहेका छैनौं । दुबै संगठनमा क्रियाशील समान हैसियतका साथीहरुको चित्तबुझ्दो व्यवस्थापन गरेर अघि बढ्नुपर्ने भएकाले केही ढिलो भएजस्तो देखिएको हो । तर एकताको भावलाई हेर्ने हो भने झन् छिटो एकता हुँदैछ पो भन्नुपर्ने होइन र ?
एकीकृत अखिल (अनेरास्ववियू) ले अवलम्बन गर्ने मार्गचित्रबारे बताइदिनुस् न ।
– वास्तवमा यस ऐतिहासिक एकताका सन्दर्भमा सबैभन्दा महत्वपूर्ण प्रश्न भनेकै यही हो । हामीलाई नीतिभन्दा नेतृत्वको बढि चासो हुने गर्छ जुन गलत छ । आजको विद्यार्थी आन्दोलनको मूल कर्तव्य नैं शैक्षिक आन्दोलनलाई सुदृढ र सशक्त बनाउनु हो । समयसापेक्ष शैक्षिक क्रान्ति हाम्रो मूल मार्ग हुनेछ । सरकारले देखेको समृद्धिको सपना साकार तुल्याउन प्राविधिक ज्ञान भएका दक्ष विद्यार्थीहरुको उत्पादनमा जोड दिइनुपर्छ । मौलिक हकमा उल्लेखित शिक्षा र स्वास्थ्य सम्बन्धी हक पूर्ण कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बाधक बनिरहेको छ । पार्टीकै आड लिएर समाजलाई लुटिरहेका सिन्डिकेटधारीहरुका कुकर्महरुलाई पर्दाफास गर्न अबको विद्यार्थी आन्दोलन हिच्किचाउनु हुँदैन । सरकारी सार्वजनिक शिक्षाको गुणस्तरको वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ । सत्तामा रहँदा आफ्नो दायित्व र कत्र्तव्य बिर्सेर किंकर्तव्यविमूढ बन्न खोज्नेहरुलाई सही बाटोमा हिडाउन सक्नुपर्छ । सरकारले गरिरहेका राम्रा कामहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नेतिर बाधक बन्ने र प्रतिपक्षीय मानसिकतामा रहेकाहरुलाई सत्मार्गमा ल्याउने दायित्व पनि वहन गर्नुपर्छ । राज्यका हरेक संयन्त्रहरुलाई ठिक ठाउँमा ल्याउन र आम विद्यार्थी एवम् श्रमजीवि जनताको पक्षमा दबाब सिर्जना गर्नुमा नै एकीकृत अखिलको जोड हुन्छ ।
प्रगतिशील विचारधाराका विद्यार्थीहरु पनि बढी अवसरवादी र पदलोलुप हुन थालेका देखिन्छन्, यस्तो किन भइरहेको होला ?
– प्रगतिशील विचारधाराका विद्यार्थीहरु पनि यही समाजका उपज हुन् । यो समाजमा जे भयो, त्यही कुरा उनीहरुले पनि सिक्दै आए । कुनै बेला मण्डलेहरुमाथि सांघातिक हमला गर्नेहरुको उच्च मूल्यांकन हुन्थ्यो र उनीहरुले नैं राजनीति गर्ने अवस्था थियो । इतिहासमा कुनैबेला नेतृत्वको आडमा प्रयोग हुने र अवसर लिने भयो तर अहिलेको अवस्था बदलिएको छ । अवसर र पदको खोजीका निम्ति राजनीतिमा आवद्ध हुनेहरु भन्दा विचार, इमान्दारिता, निष्ठा र सिद्धान्तमा अडिग रहनेहरु नैं दीर्घकालीन रुपमा नेतृत्वमा रहने परिस्थिति बन्दै गएको छ । यस्ता अवसर र पदलोलुप संस्कृतिको अन्त्य हामी आफैले गर्नुपर्छ ।
एकीकृत अखिल (अनेरास्ववियू) को नेतृत्व अनेरास्ववियुकै नेताले पाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– यसमा एकदम प्रष्ट कुरा छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले तीन बर्ष संगठनको नेतृत्व गरिसकेको र हाल सांसदको भूमिकामा रहेकाले उहाँको स्वभाविक दाबी रहँदैन । त्यस्तै, जनयुद्धको एक महत्वपूर्ण सारथी रहेको अखिल क्रान्तिकारी जस्तो महत्वपूर्ण संगठनको नेतृत्व गरिसक्नुभएका रञ्जित तामाङ आफ्नो गौरवशाली विगतलाई कम आँकेर पुनः संगठनको नेतृत्वमा दोहोरिनु होला जस्तो मलाई लाग्दैन । सगरमाथाको चुचुरोमा पुगिसकेपछि त्यहीँ खेलिरहने रहरले दुखद अवस्था निम्तिन सक्छ । उहाँले फेरि पनि संगठनको नेतृत्व गर्न इच्छा देखाउनु त्यति सान्दर्भिक नहोला किनभने उहाँ सिंगो संगठनको शीर्ष नेतृत्वमा रहिसक्नुभएको छ । यसकारण अब अनेरास्ववियुको उपाध्यक्ष भइसक्नुभएकाहरु मध्येबाट नैं नयाँ नेतृत्व चयन हुन्छ । र बाँकीले पार्टीको अन्य महत्वपूण जिम्मेवारी सम्हाल्नु हुनेछ । स्मरण रहोस्, बर्तमान महासचिव यसभन्दा अगाडि उपाध्यक्षको भूमिकामा रहिसक्नुभएको छ ।
नयाँ बन्ने संगठनको सांगठनिक संरचना कस्तो हुने देखिन्छ ?
– सांगठनिक संरचनाका सन्दर्भमा मूलतः दुबै संगठनको यसअघिकै संरचनामा रहेर सामान्य हेरफेर मात्र हुने देखिन्छ । हामीले नामको सन्दर्भमा अनेरास्ववियू नै रहने सहमति गरिसकेका छौं । अहिले पार्टीको सर्कुलर अनुसारकै कमिटि बन्नेछ, केन्द्रीय कार्यालयको हकमा आवश्यकता अनुसार निर्णय हुनेछ । कमिटि संख्या घटाउने विषयमा सहमति बन्न नसकेमा ४९९ सदस्यीय आयोजक कमिटि रहनेछ । आवश्यकता अनुसार स्थायी कमिटि र सचिवालय बनाउने र बाँकी केन्द्रीय कमिटि सदस्य बनाउने गरि छलफल चलिरहेको छ । संगठनको अन्य संरचना अन्तर्गत प्रदेश, जिल्ला, स्थानीय तह र राष्ट्रिय कमिटिहरु निर्माण गरिनेछन् ।
एकतापछिको संगठनमा तपाईको जिम्मेवारी के हुन्छ ?
– मेरो पहिलो जोड अनेरास्ववियुका मैले माथि उल्लेख गरेका नेताहरुको बिचमा सहमतिका साथ एउटा नेतृत्व चयन होस् भन्नेमा केन्द्रित छ । म व्यक्तिगत रुपमा संगठनको उपाध्यक्ष सम्हालिसकेका नेताहरुबाट नैं मूल नेतृत्वको अपेक्षा गर्छु । यदि उहाँहरुको बिचमा विद्यार्थी आन्दोलनको वर्तमान गरिमालाई बिर्सेर संगठनको पदलाई रोटेपिङको पिर्काजस्तो घुमीघुमी मजा लिने पुरानै स्वभाव दोहोरिने हो भने मूल नेतृत्वका लागि पनि म तयार छु । यद्यपि संगठनको एकतालाई ध्यान दिँदै आफ्नो पुरानो नैतिकतामा थिचिएर संगठनको हितमा प्रतिबद्ध हुँदै आएको इतिहासलाई सम्झँदै नेतृत्वले आवश्यक ठानेको जिम्मेवारी पूरा गर्न तयार छु । तर यसपछि हुने संगठनको महाधिवेशनमा मूल नेतृत्वका लागि तम्तयार छु ।
तपाईसँग कुराकानी गर्दैगर्दा सामाजिक सञ्जालमा रञ्जित तामाङ अध्यक्षमा सिफारिश भए भनेर बधाईको ओइरो लागिरहेको छ नि !
– मुलुककै सर्वाधिक चासो रहेको विद्यार्थी संगठनको नेतृत्वको सिफारिश लुसुक्क लुकेर हुँदैन । दुई श्रद्देय अध्यक्ष, पार्टी केन्द्रीय सचिवालयलाई साक्षी राखेर कार्यदलले पार्टी महासचिवलाई बुझाइने सिफारिश नैं यसको उपयुक्त जवाफ हो । अहिलेसम्म कार्यदलले औपचारिक रुपमा कुनैपनि नाम सिफारिश नगरिसकेको स्पष्ट पार्न चाहन्छु । अनेरास्ववियु भोलिको पार्टीलाई हाँक्ने सक्षम कार्यकर्ता उत्पादन गर्ने थलो भएकाले सबै संगठनहरुका एकता प्रक्रिया टुंगिसके पछाडि वर्तमान अनेरास्ववियुका सबै नेतृत्वको उचित व्यवस्थापन सहितको एकता टुंगोमा पुग्दा पनि ढिला हुनेछैन ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५