काठमार्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकलाई ‘अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण र उपलब्धिमूलक’ भन्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई संस्थागत गर्न र मुलुकलाई स्थिर दिशामा लैजान चुनाव नै एकमात्र विकल्प भएको स्पष्ट पारिन्।
बैठकमा सरकारका चार मन्त्री—अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्ना र सञ्चारमन्त्री जगदीश खरेल—सहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए। साथै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका सात सदस्यीय टोली र चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।
प्रधानमन्त्री कार्कीले देशले भोगेको हालैको असाधारण मोड—भदौ २३–२४ का घटनाहरू—प्रति संकेत गर्दै राष्ट्र संकटमा परेको बेला सबै शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताइन्। उनले भनिन्,
‘हामी जेनजी आन्दोलनबाट आएका हौँ, तर दलविरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव आवश्यक छ। अब “हुन्छ–हुँदैन” को बहस छाडेर कसरी सफल बनाउनेतिर लागौँ।’
आगोझै फैलिएको प्रदर्शन, क्षति र हिंस्रक घटनाका कारण जनता आहत भएको उल्लेख गर्दै उनले जनताले नै सुरक्षाको पहिलो कडीका रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन्।
‘हिंस्रक बानी बसे भोलि जो–कसैलाई जलाउन सकिन्छ भन्ने भय छ। यस्तो अवस्था फेरि नआओस्,’ उनले भनिन्।
निर्वाचन आयोगले तीव्र गतिमा तयारी अगाडि बढाइरहेको र सुरक्षा निकायहरू पूर्ण रूपमा सक्रिय र सक्षम रहेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो। यसै सन्दर्भमा कार्कीले थपिन्,
‘हाम्रो कुनै निजी आकांक्षा छैन। देशले संकटमा सुम्पिएको दायित्व पूरा गर्नु नै हाम्रो उद्देश्य हो। जुन दल आए पनि आयोगले खुसीखुसी प्रमाणपत्र दिन्छ।’
युवाहरूले उठाएको परिवर्तनको आकांक्षा पूरा गर्न बलियो सरकार आवश्यक भएको दोहो¥याउँदै उनले सबै दल, आयोग, सुरक्षा निकाय र जनसमुदाय मिलेर चुनावको वातावरण बनाउन आग्रह गरिन्।
‘१२६ वटै दल एकमत भए चुनावमा कसैले खलल पार्न सक्दैन,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले नयाँ नेतृत्वप्रति देखिएको शंकाको वातावरण हटाउन पनि आग्रह गरिन्।
‘अब हामीलाई शंका नगर्नुहोस्। राजनीतिक वातावरण बनाउन हामी तयार छौँ,’ उनले भनिन्।
बैठक निर्वाचनतर्फ एकताबद्ध सहमति निर्माण गर्ने महत्वपूर्ण मोडका रूपमा देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०८२