सुर्खेती जनताका विभिन्न सरोकारका विषयहरुलाई संसदमा निरन्तर उठाइरहने र कर्णाली प्रदेशकै सबैभन्दा धेरै संसदमा धारणाहरु राखिरहने सांसद हुन्- नवराज रावत । जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रावत यतिबेला आफ्नो निर्वाचन क्षेत्र र समग्र सुर्खेतमा विद्युत, यातायात, शिक्षा लगायतका विकासका पूर्वाधारहरुको विकासमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउँछन् । तत्कालीन नेकपा एमालेको प्रदेश कमिटि सदस्य समेत रहेका रावतसँग संसदभित्र उनका व्यक्तिगत अनुभव, संसदीय गतिविधिहरु, विकास निर्माण र कर्णाली प्रदेशको पार्टी एकताको सन्दर्भमा केन्द्रित रही आजको न्यूज डट कम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी :
वर्तमान सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकेको भन्ने आरोप छ, तपाईलाई के लाग्छ ?
– वास्तवमा अहिलेको सरकारसँग चुनावअघिको वामगठबन्धनको निर्माण, दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकता र दुईतिहाइ जनमत निर्माण भएका कारण जनताका अपेक्षाहरु बढी हुनु स्वभाविक हो । तर, कम्युनिष्टहरुसँगका भने यी नौला अपेक्षाहरु होइनन् । कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नैं नेपाली जनताले कम्युनिष्ट पार्टीप्रति निकै ठूला अपेक्षाहरु राख्दै आएका थिए । तर यो देशमा कुनै विधि वा कानूनको मतलब नगरिकन आफूखुसी तरिकाले नेपाली काँग्रेसले लामो समयसम्म शासन गर्यो । उसको शासनकालमा देश लथालिंग बन्यो । देशका संयन्त्रहरु पूर्ण रुपमा अव्यवस्थित रहे । यसरी काँग्रेसले भद्रगोल बनाएको मुलुकमा एकाएक वामपन्थी सरकार निर्माण भएको छ । सबैभन्दा पहिले सरकारको व्यस्तता काँग्रेसले बिगारेको व्यवस्था सुधार्नुतिर नैं बढी उन्मुख भएको छ । सरकार बनेको पछिल्लो ६ महिना काँग्रेसले गरेका अनियमितताहरु व्यवस्थित गर्ने, विधि र विधान बमोजिम सरकारी संयन्त्र परिचालन गर्न योजना बनाउने लगायत विकासका नयाँ पूर्वाधारहरुको जग बसाल्ने सन्दर्भमा सरकार प्रयत्नशील रह्यो । एउटा सत्य कुरा के हो भने बिग्रेको सुधार्न खोज्दा नयाँ जनअपेक्षाहरु सम्पूर्ण रुपमा समेट्न सकिएन । तर, सरकारले ल्याएको नीति तथा कार्यक्रम हेर्नुभयो भने त्यहाँ तपाई नेपालको दीर्घकालीन विकासको खाका भेटाउनुहुन्छ ।
पहिलो पटक संसदमा प्रवेश गर्नुभएको छ, संसदको कस्तो अनुभव हुँदैछ ?
– एक निरन्तर राजनीतिज्ञका लागि संसद नौलो कुरा त होइन, संसदभित्रको प्रवेश मात्र नयाँ हो । प्रतिनिधिसभा सदस्यका रुपमा संसदमा आफू प्रवेश गर्दैगर्दा त्यहाँका केही व्यवस्थाहरुसँग परिचित हुने नयाँ अवसर प्राप्त भएको मात्र हो । संसदभित्र आफ्नो दलीय आवद्धतामा अडिग रही जनताका माग उठाउनुपर्ने हुन्छ । सत्तापक्षको सांसद भएको नाताले प्रतिपक्षका अनावश्यक आरोपहरुको खण्डन गर्नुपर्ने हुन्छ । यसमा म सक्रिय पनि हुँदै आइरहेको छु । यो बाहेक मैले अनुभूति गरेको नयाँ कुरा के हो भने सत्ताबाहिर हुँदाको काँग्रेसको छटपटाहट कस्तो हुँदो रहेछ भन्ने कुरा मैले संसदमा देखेँ । योसँगै अहिलेको प्रतिनिधिसभामा रहेका विभिन्न पार्टी र तिनका मुख्यमुख्य नेताले साँच्चिकै चाहने हो भने हाम्रो देशको समृद्धि टाढा छैन जस्तो विश्वास समेत जागेको छ ।
सांसद निर्वाचित भइसकेपछि सुर्खेत क्षेत्र नं. २ मा तपाईले गरेका विकास निर्माणका कार्यहरु बारे बताइदिनुस् न ।
– मेरो निर्वाचन क्षेत्र कर्णाली प्रदेशको राजधानी रहेको क्षेत्र हो । यसकारण विरेन्द्रनगरको विकास नभइकन कर्णाली प्रदेशको विकास हुन सक्दैन । यसै कुरालाई मध्यनजर गर्दै दाङको पुरुन्धारादेखि विरेन्द्रनगर–गुटु–लगाम हुँदै डोटी जोड्ने मदन भण्डारी राजमार्गको काम दु्रतगतिमा अघि बढाइएको छ । सुर्खेत र अछाम जोड्ने जंगलघाट एवम् सुर्खेत र डोटी जोड्ने बेनीघाट दुबै ठाउँमा पक्की पुलका साथै विरेन्द्रनगर रिंगरोडको काम पनि सुरु भएको छ । काँक्रेविहारलाई पर्यटकीय क्षेत्रको रुपमा समावेश गर्न सफल भएका छौं । यस्तै, सुर्खेतमा १३२ केभी विद्युत प्रशारण लाइनको अनुमति प्राप्त भएको छ भने बांगेसिमलदेखि पश्चिमका साविकका १६÷१७ वटा गाविसमा विद्युत सुचारु गराउन पहल भइरहेको छ । पञ्चपुरी वडा नं. ५ मा ३३ केभी प्रशारण लाइन विस्तारका लागि बाबियाचौरमा भवन निर्माण सम्पन्न हुँदैछ । दशैंतिहारपछि पञ्चपुरी, बराहताल, चौकुने लगायतका क्षेत्रमा बत्ती बल्नेछ । ग्रामीण विद्युतीकरणका लागि मैले थप माग गरेपछि साढे १८ करोड बजेट थप व्यवस्थापन हुँदैछ । बराहताल वडा नं ७ लखरपाटामा सिमेन्ट उद्योग सञ्चालन प्रक्रिया अघि बढेको छ ।
यस्तै, चौकुनेमा रहेको मुक्तिश्री सिमेन्ट उद्योगको अनुमति खारेज गरिएकोमा पुनरावेदन अदालतबाट ३० बर्षे सम्झौता बमोजिम अनुमति पाएपनि कुनै काम नगरेको विषयलाई मैले सदनमा निरन्तर उठाइरहेको छु । यसबाहेक शिक्षा, सञ्चार, खानेपानी, रोजगारी लगायतका क्षेत्रमा योजनाबद्ध रुपमा काम अघि बढाएको छु ।
एकजना सांसदसँग जनताका अपेक्षाहरु केकस्ता हुँदा रहेछन् ?
– आफूले मतदान दिइ निर्वाचित भएको सांसदसँग जनताका विभिन्न खालका अपेक्षा हुनु एकदम स्वभाविक हो । जनताले दुई मिटर पाइपदेखि अस्पतालमा सामान्य उपचारका सन्दर्भमा पनि सांसदको सहयोगको अपेक्षा गर्दछन् । खासगरि रोजगारी, विकासनिर्माणका योजनाहरुमा बजेट लगायतका क्षेत्रमा जनताको अपेक्षा बढी नैं देखिन्छ । रोजगार र विकासका सन्दर्भमा जनताले कसैको चुनाव चिन्ह बोकेबापत भन्दा पनि राज्यले आफ्नो दायित्व ठानेर योग्यताका आधारमा अवसरहरुको बाँडफाँड नीतिगत रुपमा गर्नुपर्छ भन्ने मलाई लाग्छ । नीतिगत व्यवस्था हुने हो भने कसैलाई भोट हालेको आधारमा माग राखिरहनु पर्दैन । मेरो जोड नीतिगत विकास गर्ने र अवसरहरु वृद्धि गर्ने कुरामा केन्द्रित छ ।
तपाई तत्कालीन नेकपा एमालेको प्रदेश कमिटि सदस्य पनि हुनुहुन्छ, अब एकताका सन्दर्भमा प्रदेशमा पार्टी एकता प्रक्रिया कसरी अगाडि बढेको छ ?
– कर्णाली प्रदेशमा पनि पार्टी केन्द्रको एकताको स्पीरिटबमोजिम एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीका सम्पूर्ण कमिटिहरुको एकीकरणका लागि पार्टीले बनाएको विधान र नियमावली बमोजिम कार्यदलले काम गरिरहेको छ । तत्कालीन एमालेका तर्फबाट युवराज ज्ञवाली र यामलाल कँडेल तथा माओवादीका तर्फबाट जनार्दन शर्मा र मायाराम शर्माले एकताको नेतृत्व गरिरहनुभएको छ । विधानअनुसार कर्णाली प्रदेशमा पनि ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवको चयन हुनेछ । कार्यदलले प्रदेश कमिटिको भावी संरचनाबारे पार्टीलाई सिफारिश गरिसकेको छ । नेताहरु हाम्रो प्रदेशका १० वटै जिल्लाको एकताको अन्तिम खाका केही दिनमा ल्याउँदै हुनुहुन्छ । जसअनुसार पाँचवटा जिल्लामा तत्कालीन एमाले र पाँचवटा जिल्लामा तत्कालीन माओवादी केन्द्रले नेतृत्व पाउने गरी छलफल अघि बढेको छ । प्रदेश कमिटि सदस्य भएको नाताले मैले पनि सुर्खेत, दैलेख, कालीकोट, डोल्पा र सल्यानको नेतृत्व हामीले पाउनुपर्छ भनेर नेताहरुलाई सुझाव दिएको छु ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५