केही दिनअघि मात्रै राजधानीमा नेपाल शैक्षिक परामर्श संघको आयोजनामा १२ औं ईक्यान मेला सम्पन्न भएको छ । विदेशमा विभिन्न विषयको उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी र अभिभावकहरुलाई एकै ठाउँमा विभिन्न देशका विषयहरुका बारेमा शैक्षिक परामर्श दिने हेतुले ईक्यान मेला आयोजना गरिएको र उद्देश्यअनुरुप नैं मेला सम्पन्न भएको ईक्यानका उपाध्यक्ष एवम् काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी KIEC का सञ्चालक राजेन्द्र रिजाल बताउँछन् । प्रस्तुत छ– ईक्यान मेलाको सन्दर्भसहित वैदेशिक शिक्षाका विविध सवालहरुमा केन्द्रित रही उपाध्यक्ष रिजालसँग आजको न्यूज डट कम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी :
ईक्यान मेला तपाईहरुको अपेक्षाबमोजिम सम्पन्न भयो वा केही कमजोरीहरु रहे ? कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– एक लाख पाँच हजारभन्दा बढी विद्यार्थी एवम् अभिभावकले अवलोकन गरेको मेला वास्तवमा निकै उत्साहपूर्ण रुपबाट सफल भएको छ । हाम्रो तयारी र अपेक्षाबमोजिम नैं हामी सफल भएका छौं । खासगरि सूचना र प्रविधिको विकास र विस्तारका कारण विद्यार्थीहरुले सामाजिक सञ्जालबाट समेत मेलाको अवलोकन गर्न सक्ने भएकाले आफ्ना इच्छा र जिज्ञासा मेटाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । हामीले फेसबुक लाइभ र विभिन्न सञ्चार माध्यमबाट समेत मेलाबारे जानकारी गराएका कारण प्रत्यक्ष उपस्थितिबिना पनि धेरैले मेलामा उपलब्ध गराइएका सूचना बारे जानकारी पाएका छन् भन्न सकिन्छ ।
अवलोकनका आधारमा भन्नुपर्दा नेपाली विद्यार्थीको रोजाइमा परेका प्रमुख देश र अध्ययनका विषयहरु के–के देखिए ?
– ईक्यान मेलामा अवलोकनका लागि आएका कूल विद्यार्थीमध्ये अधिकांशको पहिलो रोजाइ अष्ट्रेलिया देखियो । त्यस्तै, यूएसए, यूके, न्यूजिल्याण्ड, जापान, साउथ कोरिया, फिलिपिन्स, चाइना र बंगलादेश पनि विद्यार्थीको उच्च प्राथमिकतामा परेका देखिए । वैदेशिक अध्ययनमा चासो राख्ने विद्यार्थीहरुको रोजाइका विषयहरु चाहिँ मेडिकल स्टडिज, आईटी, इन्जिनियरिङ, एकाउन्टिङ, नर्सिङ, विजनेस स्टडिज आदि देखिन्छन् । मेलामा आएका कतिपय विद्यार्थीहरु वैदेशिक अध्ययनका बारेमा बेखबर भएको पनि देखियो । एकथरि विद्यार्थीहरु विदेश अध्ययनका लागि आफ्नो रोजाइको देश र विषयका बारेमा अलमलमा परेको पनि देखियो । त्यसकारण सबै प्रकृतिका विद्यार्थी र अभिभावकका लागि मेला निकै उपयोगी रह्यो भन्ने मेरो बुझाइ छ ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुमा केकस्ता समस्याहरु देखिने गरेका छन् ?
– वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरुमा सबैभन्दा ठूलो समस्या आफूलाई व्यवस्थापन गर्न नसक्नु देखिएको छ । खाना, पैसा र पढाइको उचित व्यवस्थापन नभएको हाम्रोजस्तो संस्कृतिमा भिँजेका विद्यार्थीहरु विदेशमा आफ्नो खर्च, पढाइ र खानपान लगायतका विषयमा राम्रो व्यवस्थापन गर्न नसक्दा असफल पनि हुने गरेका उदाहरण छन् । त्यस्तै, आफूलाई उपयुक्त विषय, उपयुक्त देश आदि बारे गहिरो अध्ययन नगरिकनै विदेश जान हतारिने स्वभाव हाम्रा विद्यार्थीहरुमा व्याप्त छ । यसरी हतारको मनस्थितिमा विदेश जाने हुनाले गएको भोलिपल्टदेखि भाषा र आर्थिक समस्या मात्र होइन, वातावरणमा समेत घुलमिल हुन नसक्नाले विद्यार्थीहरुले विभिन्न समस्या भोग्नु परिरहेको देखिन्छ ।
वैदेशिक अध्ययनलाई सहज बनाउन राज्यले कस्तो कदम चाल्न आवश्यक छ जस्तो लाग्छ ?
– सर्वप्रथम त राज्यसँग विदेशमा अध्ययनका निम्ति गएका विद्यार्थीहरुको आँकडा नैं छैन । त्यो एकिन आँकडा तयार पार्नुपर्ने देखिन्छ । वैदेशिक अध्ययनको क्षेत्रमा काम गरिरहेका शैक्षिक परामर्शदाताहरुसँग समन्वय र सहकार्यका आधारमा राज्यले एउटा फ्रेमवर्क तयार गर्न अझै नसक्नु बिडम्वनापूर्ण कुरा हो । राज्यसँग नो अब्जेक्सन लेटरका सन्दर्भमा त हाम्रो धेरै ठूलो अब्जेक्सन नैं छ । राज्यले यस्ता धेरै महत्वपूर्ण कुरामा स्पष्ट ढंगले लाग्नुपर्ने हो, तर त्यस्तो भईरहेको छैन । राज्यले लिइरहेको २ प्रतिशत सेवा शूल्क र त्यसको उपयोगिता समेत प्रष्ट हुन सकिरहेको छैन ।
यस क्षेत्रमा क्रियाशील तपाईहरुजस्ता परामर्शदाताहरुका समस्याहरु केकस्ता छन् ?
– शैक्षिक परामर्शको क्षेत्रमा विभिन्न प्रकारका परामर्शदाताहरु छन् तर तिनीहरुको वर्गीकरण नभएकाले केही समस्याहरु देखा परिरहेका छन् । यस क्षेत्रमा खासगरि तीन प्रकारका परामर्शदाताहरु रहेका छन्– लामो अनुभव र परिपक्वता भएका, कस्तो हुन्छ भनेर रहरले पसेका र यथार्थता नबुझी प्रवेश गरेका । यिनीहरुको राम्ररी वर्गीकरण भएको भए विद्यार्थी र अभिभावकलाई राम्रो कन्सल्टेन्सी छुट्याउन सहज हुने थियो । त्यसैले सरकारले शैक्षिक परामर्शदाता संस्थाहरुले राज्यभित्र रोजगारीमा गरेको सहयोग, राजस्व वृद्धि, दक्ष जनशक्ति उत्पादनमा जोड, सही शैक्षिक परामर्श र नयाँ प्रविधि भित्र्याउन खेलिएको भूमिका बारे स्पष्ट भएर समन्वय गर्न आवश्यक छ ।
तपाईले सञ्चालन गर्दै आइरहेको परामर्शदाता संस्था KIEC ले कस्तो सेवा प्रदान गरिरहेको छ ?
– हामीले मुख्यतया वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने भाषाको तयारी गराउने गर्दछौं । जसमा NAT, IELTS, TOEFL, GRE, G-MAT, PTE जस्ता तयारी कक्षाहरु समावेश छन् । त्यसैगरि, अष्ट्रेलिया, न्युजिल्याण्ड, यूएसए, यूके, आयरल्याण्ड, फिनल्याण्ड, जापान लगायतका विभिन्न १० वटा देशहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुका निम्ति शैक्षिक परामर्श दिने काम समेत गर्दै आइरहेका छौं ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५