व्यवस्थापन तथा आर्थिक क्षेत्रमा संलग्न रही अनुभव हासिल गरेका विभिन्न विज्ञहरुको संलग्नतामा मुलुकको व्यवस्थापन क्षेत्रको विकासका लागि ‘नेपाल व्यवस्थापन परिषद्’ नामक संस्थाको स्थापना भई संचालनमा आएको एक बर्ष पूरा भएको छ । यस संस्थाले आफ्नो स्थापनाको पहिलो बार्षिकोत्सव यही श्रावन ९ गते बुधबार विभिन्न कार्यक्रम सहित मनाउँदैछ । मुलुकको वर्तमान सन्दर्भमा संस्था स्थापनाको आवश्यकता, सञ्चालन गरिरहेका गतिविधिहरु र भावी योजनामा केन्द्रित रही अर्थविज्ञ, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् उक्त संस्था नेपाल व्यवस्थापन परिषद्का अध्यक्ष जनकराज शाहसँग आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :
संस्थाको स्थापनाको आवश्यकता कसरी महशुस गर्नु भयो ?
–२१ औं शताब्दीमा पनि हामी विकासको अल्पविकसित चरणमै छौ । हाम्रो देशमा विकासको लागि आवश्यक पर्ने साधन स्रोतको अभाव छैन । विकासका थुप्रै संभावनाहरु रहँदारहँदै पनि उपलब्ध साधन स्रोतहरुको परिष्कृत रुपमा अधिकतम सदुपयोग गर्न सकिएको छैन । यसको प्रमुख कारण राज्यको राजनैतिक र सार्वजनिक क्षेत्र तथा अर्थतन्त्रको महत्वपूर्ण वाहकको रुपमा रहेका निजी क्षेत्रमा अझै व्यवस्थापन दृष्टिकोण र साधन स्रोतहरुकको परिचालनमा आवश्यक व्यवस्थापकीय क्षमता र सीपको अभाव रहनु नै हो । यो तथ्यलाई मनन् गदै मुलुकको समग्र क्षेत्रमा व्यवस्थापन क्षेत्रको विकास गरी राष्ट्रको विकासमा सहयोग पुर्याउने उद्देश्य राखी यो संस्थाको स्थापना गरिएको हो । ‘राष्ट्र सेवामा समर्पित’ भन्ने नाराका साथ स्थापना भएको यो संस्था राष्ट्रको समग्र व्यवस्थापन क्षेत्रको विकासमा संलग्न संस्थाको रुपमा रहनेछ ।
संस्थाले अहिले के कस्ता क्रियाकलापहरु संचालन गर्दै आएको छ ?
–संस्थाले राज्यलाई विभिन्न विषयमा नीतिगत सरसल्लाह प्रदान गर्नुका साथै अध्ययन अनुसन्धान कार्य गदै आएको छ । यसका साथै राष्ट्रका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकाससँग सम्बन्धित विभिन्न क्रियाकलापहरु पनि संचालन गर्दै आएको छ । यसैगरी मुलुकको सार्वजनिक, सहकारी र निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवस्थापन विकास र जनशक्ति विकासमा सहयोग पुर्याँउदै आएको छ ।
संस्थाका थप भावी योजनाहरु के छन् ?
–हामीले यो संस्थालाई मुलुकको समग्र व्यवस्थापन क्षेत्रको विकासमा एउटा सहायकसिद्ध हुने Management Excellence Centre को रुपमा विकास गर्ने लक्ष्य लिएका छौं । राष्ट्रको विकास र आर्थिक समृद्घिमा सहायक सिद्घ हुने जनशक्तिको विकासमा संस्थाले आफ्ना क्रियाकलापहरु सञ्चालन गर्न Empowering People for High Performance and Sustainable Growth (EPHPSG) Centre को स्थापना गरी साधन स्रोतयुक्त व्यवस्थापन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ ।
व्यवस्थापन क्षेत्रको विकासका लागि सरकारले खास के गर्नु आवश्यक छ ?
–मुलुकमा समग्र व्यवस्थापन क्षेत्र एवम् सक्षम जनशक्तिको विकासका लागि सरकारको ध्यान पुग्न सकेको छैन । यसमा हामी सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं । व्यवस्थापन क्षेत्रमा क्रियाशील व्यवस्थापकहरुको सरोकारलाई राज्यले बुझ्न सक्नु पर्दछ । संगठित रुपमा व्यवस्थापन क्षेत्रको विकासमा र राष्ट्र निमार्णमा क्रियाशील व्यवस्थापकहरुको भूमिकालाई ठोस बनाई व्यवस्थापकहरुको व्यवस्थापन कार्यलाई पेशागत दक्षताको आधार बनाउन कानून निर्माण गरी औपचारिक एवम् संस्थागत रुपमा अन्तर्राष्ट्रिय प्रचलनअनुरुप व्यवस्थापन पेशाको विकास गर्न राज्य तयार हुनु पर्दछ । यसको लागि हामी पहल एवम् सरकारसँग सहकार्य गर्न तयार छाैं ।
अन्त्यमा, थप केही भन्न चाहनुहुन्छ ?
–हामीले व्यवस्थापन क्षेत्रको विकासका लागि यस संस्थाको स्थापना गर्न पुग्यौं । स्थापनाको एक बर्ष पुगेको अवसरमा हामी संस्थाको बार्षिकोत्सव मनाइरहेको छौं । यस अवस्थासम्म आइपुग्दा हाम्रो स्थापनाकालदेखि विभिन्न क्षेत्रबाट साथ सहयोग प्राप्त भई नैं रहेको छ । आफ्नो स्थापनाको छोटो अवधिमा हामीलाई विश्वास गरी संस्थाका क्रियाकलापहरुमा सहयोग पुुर्याउनु हुने बिभिन्न संघ, संस्था, निकाय एवम् सहयोगी व्यक्तित्वहरुप्रति यस घडीमा हार्दिक आभार व्यक्त गर्दछु । साथै संस्थाका प्रतिबद्घ सदस्यहरु एवम् कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५