उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विश्वका विभिन्न देशहरुमा जान चाहने विद्यार्थीहरुको सहजताका लागि नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले राजधानीको भृकुटीमण्डपमा ४ दिने मेला बिहीबारबाट सुरु गरेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीद्वारा उदघाटन भएको उक्त मेलामा परामर्श लिने विद्यार्थी तथा अभिभावकहरुको चाप निकै बढिरहेको देखिएको छ । यसै सन्दर्भमा प्रस्तुत छ– मेलाका मुख्य उद्देश्यहरु सहित वैदेशिक शिक्षाका विविध आयाममा केन्द्रित रही मेला संयोजक एवम् ईक्यानका प्रथम सचिव दिपकराज भुसालसँग आजको न्यूज डट कमका लागि नरेश न्यौपानेले गरेको कुराकानी :
–ईक्यान मेला आयोजनाका मुख्य उद्देश्यहरु केके रहेका छन् ?
विद्यार्थी र तिनका अभिभावकहरुले वैदेशिक शिक्षाका विभिन्न पक्षहरुलाई बुझ्न एकै ठाउँबाट सहज बनाउने उद्देश्यले ईक्यान मेलाको आयोजना गरिएको हो । शैक्षिक परामर्शदाताको रुपमा राजधानी सहित देशका विभिन्न ठाउँमा रहेका ३२८ वटा परामर्शदातृ संस्थाहरु र तिनले प्रदान गर्दै आइरहेका सेवाहरु बारे आम विद्यार्थीहरुले अवलोकन गरुन् र आफूलाई आवश्यक लाभ लिन सकून् भन्ने ईक्यानको अपेक्षा छ । १२ औं ईक्यान मेला हरेक बर्षजस्तै यस वर्षका लागि पनि हाम्रो नियमित कार्यक्रम हो । मेलाले विदेशी कलेज तथा यूनिभर्सिटी र तिनका सेवाहरु मात्र नभइ छात्रवृत्ति कार्यक्रमका बारेमा समेत पर्याप्त सूचना दिने हाम्रो विश्वास छ ।
–कस्तो प्रकृतिका विद्यार्थीहरुलाई लक्षित गरेर मेला आयोजना गरिएको हो ?
खासगरि +२, स्नातक र स्नातकोत्तर तह उत्तिर्ण गरेर थप अध्ययनका लागि विदेशका विभिन्न यूनिभर्सिटीमा शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको सहजतामै मेला बढी लक्षित छ । त्यो बाहेक अनुसन्धान र पीएचडीका लागि विदेश रोज्नेहरुका लागि पनि मेला उपयोगी छ । मेलाले खासगरि अमेरिका, बेलायत, अस्ट्रेलिया, यूरोप, फिलिपिन्स, न्यूजिल्याण्ड, जापान, चाइना, इण्डिया लगायतका देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई अत्यधिक फाइदा पुर्याउने देखिन्छ ।
–अवलोकनको अनुपातलाई हेर्दा विद्यार्थीको आकर्षणमा परेका शैक्षिक कार्यक्रमहरु केके देखिन्छन् ?
विदेशमा पढ्न चाहने नेपाली विद्यार्थीहरुको रोजाइका मुख्य विषयहरु ईन्जिनियरिङ, आईटी, व्यवस्थापन, नर्सिङ, हस्पिटालिटी लगायत भएको विद्यार्थीको अवलोकनबाट देखिन्छ । योबाहेक छात्रवृत्ति कार्यक्रममा पढ्न जानका लागि सूचना लिन आउने विद्यार्थीको संख्या पनि उल्लेख्य देखिन्छ ।
–१२ औं ईक्यान मेला यसअघिका मेलाहरुभन्दा के कति कुराहरुमा फरक पाउनुभएको छ ? कि पुरानै निरन्तरता मात्र हो ?
अनिवार्य रुपमा निरन्तरता दिनुपर्ने विषयहरु त यो मेलामा पनि समावेश हुने नैं भए । जस्तै, विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने कुरा पुरानो वा नयाँ जे भनेपनि हाम्रो मुख्य यही काम हो । त्यो बाहेक यसपटकको मेलाको उदघाटन सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको विशेष उपस्थितिमा अष्ट्रेलियन र श्रीलंकन राजदूत सहित विभिन्न दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गरियो । यसपटक मेलामा वैदेशिक कलेज र यूनिभर्सिटीका प्रतिनिधिहरुको संख्या पनि उल्लेख्य मात्रामा छ । त्यस्तै टेक्स टेकरको हिसावले नेट टेक्स्टलाई पहिलो पटक मेलामा स्पोन्सरकै रुपमा सहभागी गराएका छौं । छुट्टै ब्लक राखेर जापान जोन नैं बनाएका छौं जहाँ जापानसँग सम्बन्धित संस्कृति समेटिएको भिडियो, ड्रेस लगायत प्रदर्शनी भइरहेको छ । त्यस्तै, अतिथि सत्कार, इभेन्ट व्यवस्थापन र सञ्चारका लागि छुट्टै कार्यालय नैं स्थापना गरेर समग्र मेलाको व्यवस्थापन पद्धति सुरु गरेका छौं ।
–ईक्यान मेला आयोजक नेपाल शैक्षिक परामर्श संघ बारे बताइदिनुस् न ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) नेपालभरि वैदेशिक शिक्षाका सन्दर्भमा नेपाली विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने सम्पूर्ण परामर्शदाता शैक्षिक संस्थाहरुको छाता संगठन हो । नेपाल सरकारको अनुमति र परामर्शबाट नैं यस्ता संस्थाहरुले विद्यार्थीहरुलाई सूचना र सेवा प्रदान गर्दै आइरहेका छन् । ईक्यान विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने र यस क्षेत्रका व्यवसायीहरुलाई समेत समन्वय गर्दै वैदेशिक शिक्षासँग नेपाललाई जोड्ने सेतुको रुपमा क्रियाशील संस्था हो ।
–अन्तमा, मेला व्यवस्थापनका सन्दर्भमा सञ्चालन, सक्रियता र उत्साहबारे के भन्नुहुन्छ ?
हामीले अपेक्षा गरेभन्दा बढी उत्साहपूर्वक विद्यार्थीहरुले मेला अवलोकन गरिरहेका छन् । अवलोकनकर्ताहरुको भीडलाई हेर्दा मेला अवधिभर करिब १ लाख भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने हाम्रो आँकलन छ । यसरी मेलालाई भव्य, व्यवस्थित र सफल बनाउन अहोरात्र खट्नुहुने ईक्यानका पदाधिकारी र सदस्यहरु, साझेदार संस्थाहरु, प्रायोजक, अभिभावक, विद्यार्थी लगायत सबै धन्यवादका पात्र छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५