रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका नेपालको एक पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण क्षेत्र र व्यापारिक महत्वको रसुवागढी नाका भएको गाउँपालिका हो । यस गोसाइँकुण्ड गाउँपालिकालाई यातायातको चौतर्फी विकास, धुन्चेदेखि गोसाइँकुण्डसम्म केबुलकार सञ्चालन एवम् लघुजलविद्युतको माध्यमबाट नमूना विकास गर्ने योजनामा छन्, गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ । गाउँपालिकामा यस बर्ष सम्पन्न विकास निर्माण योजनाहरु र भावी कार्यक्रमहरुबारे केन्द्रित रही तामाङसँग आजको न्यूज डट कमका लागि नरेश न्यौपानेले गरेको कुराकानी :
तपाई आफ्नो गाउँपालिकाको परिचय कसरी दिनुहुन्छ ?
–पाँचवटा स्थानीय तह भएको रसुवा जिल्लामा गोसाइँकुण्ड गाउँपालिका भौगोलिक हिसाबले सबैभन्दा ठूलो गाउँपालिका हो । सदरमुकाम धुन्चेसहित साविकका ६ वटा गाविस स्याफ्रु, लाङटाङ, ब्रिद्विम, टिमुरे र थुमन यस गाउँपालिका अन्तर्गत रहेका छन् । पर्यटकीय दृष्टिकोणले प्रख्यात गोसाइँकुण्ड तालसहित १०८ वटा ताल र कुण्डहरु हाम्रै गाउँपालिकामा पर्दछन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ सहित ऐतिहासिक रसुवागढी र विश्वकै दुर्लभ रेडपाण्डा यहीँ पाइने भएकाले यसलाई महत्वपूर्ण पर्यटकीय सम्भावना भएको गाउँपालिका मानिन्छ । ८० प्रतिशत तामाङ समुदायको बसोवास रहेको यस गाउँपालिकामा नेपालकै एकमात्र तामाङ संग्रहालय रहेको छ । यसकारण धार्मिक, साँस्कृतिक र पर्यटकीय कोणबाट मात्र होइन, देशको व्यापारिक महत्वको हिसाबले समेत यो महत्वपूर्ण क्षेत्र हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले सम्पन्न गरेका विकास निर्माणका योजना बारे जानकारी गराइदिनुस् न ।
–हामीले गाउँपालिकाभित्र कार्य सञ्चालनका निम्ति स्थानीय तह कार्यसञ्चालन एवम् कार्यविधि सम्बन्धी २२ वटा ऐन/कानूनहरु निर्माण गरेर यसकै आधारमा विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौं । चालु आर्थिक वर्षको १९ करोड ५५ लाख गाउँपालिकाको बजेटलाई खासगरि पालिकाभित्रका सबै वडामा सडक सञ्जाल निर्माण गर्ने, सदरमुकामदेखि गोसाइँकुण्डसम्म केबुलकार विस्तार गर्ने, पर्यटकीय स्थल लाङटाङको थाङस्यापसम्म सडक विस्तारको निम्ति EIA प्रक्रिया सुरु गर्ने र धार्मिक स्थलहरुको सुरक्षा र मर्मत लगायतका क्षेत्रको विकासतिर केन्द्रित गरेका थियौं । त्यस अनुसार सडक नपुगेको थुमनसम्म यही मसान्तभित्र सडक पुर्याउँदैछौं । सबै वडाहरुमा गरेर २२ किलोमिटर सडक मर्मत गरिएको छ भने ७ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छौं । गाउँपालिका भित्रका विद्यालय, स्वास्थ्यचौकी, गुम्बा र कुण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, स्थानीयहरुको सहजताको लागि वडा कार्यालयमा बडापत्र राखिदिएका छौं । प्रत्येक विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्ने हाम्रो योजना हाल स्याफ्रुको काेमिन श्यामेवाङ्फेल माविमा सुरु गरिएको छ । यस्तै ४ वटा सामुदायिक भवनहरु निर्माणकार्य सम्पन्न भएको छ । यसैगरि अन्य विकास निर्माणका गतिविधिहरु तीब्रताका साथ अगाडि बढिरहेका छन् ।
असारे विकासको चटारो कत्तिको छ तपाईहरुलाई ?
–चटारो भन्दा पनि हामीले निरन्तर पूर्वयोजना मुताबिक आफ्ना कामहरु सञ्चालन गरिरहेका छौं । तर दक्ष एवम् प्राविधिक जनशक्तिको कमी तथा भुइँचालो प्रभावित जिल्ला भएकाले स्थानीयहरु आफ्नै नीजि आवास निर्माणमा बढी व्यस्त भएर कुनैकुनै योजनाहरुमा केही ढिलाइ भएको हुनसक्छ । यद्यपि मसिनो योजनाका साथ काम गरिरहेकाले हामीलाई असारे चटारोले खासै छोएको छैन । महत्वपूर्ण योजनाहरु मसान्तभित्रै सम्पन्न गरिसक्छौं ।
गोसाइँकुण्ड गाउँपालिकाले यो आर्थिक वर्षमा सम्पन्न गरेका केही गौरवका योजनाहरु पनि छन् ?
–अवश्य । भौगोलिक विकटता भएको साविकको वडा नं. १ मा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसले हामीलाई अत्यन्त खुसी तुल्याएको छ । यस्तै, भूकम्पले क्षतविक्षत भएको लाङटाङ ४ मा दातृ निकायसँगको समन्वयमा गाँस, वास र कपासको व्यवस्था गर्नुका साथै त्यहाँ १०० किलोवाट क्षमताको लघुजलविद्युत निर्माण गरिएको छ । लोप हुन लागेका संस्कृति र कलाको सम्वद्र्धनका लागि विभिन्न समूह र वर्गलाई समेटेर पर्यटकीय हिसाबले महत्वपूर्ण र भावी पुस्ताको सम्पत्तिको रुपमा विभिन्न विकासका कामहरु गरेका छौं । वास्तवमा जनतालाई प्रत्यक्ष लाभ पुर्याउने कामहरु सम्पन्न हुँदा आफैलाई पनि गौरव लाग्दो रहेछ ।
कार्यालयमा जनगुनासोहरु कत्तिको आउने गरेका छन् ?
–हामीकहाँ खासगरि २०७२ सालको विनाशकारी भूकम्पले पीडित समुदाय र त्यसमा पनि लाभग्राही सूचिमा नपरेका तर वास्तविक पीडितका गुनासाहरु धेरै आउने गरेका छन् । अनुदान पाउनैपर्ने धेरै परिवारहरु छुटेको पनि देखिन्छ । त्यस्तै, हामीले केन्द्र र प्रदेश सरकारले दिएको मापदण्डका आधारमा योजना निर्माण गरेपनि योजना छनोट थप व्यवस्थित गर्नुपर्ने सुझावहरु आउने गरेका छन् । हामीले स्थानीयहरुको मनोविज्ञानलाई उच्च प्राथमिकता दिदै काम गरिरहेका छौं ।
समुन्नत गोसाइँकुण्ड गाउँपालिका निर्माणका लागि तपाईका भावी योजनाहरु केके छन् ?
–हाम्रो चुनावी घोषणापत्रमा पनि उल्लेख भएका र यहाँको विकासको निम्ति अपरिहार्य विषयहरु नैं मेरा भावी योजनाहरु छन् । यसमा हाम्रो पहिलो प्राथमिकतामा पर्यटकीय स्थल लाङटाङलाई सडकसँग जोड्ने र गाउँपालिकाभित्र बाह्रै महिना सहज हुने खालको सडक विस्तार गर्ने रहेको छ । पालिका भित्रका ३ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ र सम्पूर्ण वडामा यसको विस्तार गर्ने योजना छ । पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन पर्याप्त सूचना लिएर GPS मार्फत ट्रयाकिङ गर्ने योजनामा छौं । गाउँपालिकाभित्र एक र पाँच मेगावाटका जलविद्युत योजनाहरु P3 को मोडलबाट निर्माण गर्ने गरि काम अघि बढाएका छौं । त्यस्तै रसुवागढी नाकालाई व्यवस्थित गर्न पार्किङ, CCTV र सूचनापाटीको व्यवस्था गरिरहेका छौं । यी बाहेक पनि केही महत्वपूर्ण भावी योजनाहरुको अध्ययन सहित विकास गर्ने हाम्रो लक्ष्य छ ।
प्रकाशित मिति: शनिबार, असार २३, २०७५