नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पन्न एकताले पुराना दुई पार्टीका सम्पूर्ण जनवर्गीय संगठनहरुलाई पनि शीघ्र एकताका निम्ति दबाव सिर्जना गरेको छ । वैचारिक मतभिन्नताको अन्त्य र भावी कार्यदिशामा देखिएको एकरुपताले समेत यूवा संघ नेपाल र वाईसीएलबिच पनि ऐतिहासिक एकताको वातावरण निर्माण गरिदिएको बताउँछन्– यूवा संघ नेपालका सचिव, दिपक जी.एम. । प्रस्तुत छ– संगठन एकताको गति, भावी नेतृत्व एवम् विधान तथा संरचना लगायतका विषयवस्तुमा केन्द्रित रही जी.एम. सँग आजको न्यूज डट कमका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी :
यूवा संघ नेपाल र वाईसीएल बिचको एकता प्रक्रिया किन ढिलो भइरहेको छ ?
–ढिलो भइरहेको होइन, बरु तीब्रताका साथ यस प्रक्रियालाई सम्पन्न गर्न लागिरहेका छौं । एकता हतारमा गरिहाल्ने विषय पनि होइन । दुबै संगठनका बिचमा एकताको अन्तिम टुंगो लगाउनका निम्ति पार्टीले दुबै संगठनका ईञ्चार्ज र अध्यक्ष सम्मिलित ४ जनाको कार्यदल निर्माण गरिसकेको छ । एकताको सम्पूर्ण काम पार्टीसँगको सहकार्यमा कार्यदलले अन्तिम चरणमा पुर्याउँदैछ । मेरो विचारमा श्रावण अन्त्यसम्ममा हाम्रो एकीकृत संगठन निर्माण भइसक्छ ।
एकीकृतपछिको संगठनको नेतृत्व कसले गर्छ ?
–मेरो विचारमा लामो राजनीतिक इतिहास, बलिदानी र संघर्षहरुको गरिमा एवम् अर्थपूर्ण राजनीतिक आन्दोलनहरुको नेतृत्व तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा आजको यूवा संघले नैं एकीकृत संगठनको नेतृत्व गर्नुपर्दछ । यद्यपि वाईसीएलको पनि आफ्नो संघर्षपूर्ण इतिहास छँदैछ । सबैको भावनाको प्रतिनिधित्व हुने गरि सामूहिक नेतृत्व विकास गर्नेतिर छलफलहरु चलिरहेका पनि छन् । अन्तर्राष्ट्रिय यूवा संगठन FYDY को समेत उपाध्यक्षका रुपमा यूवा संघले काम गरिसकेको छ । यस्ता विविध कारणहरुले एकतापछिको नेतृत्व पनि इतिहासको वस्तुनिष्ठ बुझाइका आधारमा हुन्छ भन्ने लाग्छ ।
संगठनको नाम, झण्डा र विधानबारे चलिरहेको छलफलबारे बताइदिनुस् न ।
–नेकपासँगको आस्थागत निकटता भएपनि स्वतन्त्र यूवाहरुले समेत अपनत्वको अनुभूति गर्न मिल्ने नाम यूवा संघ नेपाल नैं हुन्छ जस्तो मलाई लाग्छ । झण्डाको सन्दर्भमा समस्या होला जस्तो मलाई लाग्दैन किनभने दुबै संगठनको झण्डामा रहेको रातो भागले यूवाहरु क्रान्ति र परिवर्तनका बाहक हुन् भन्ने जनाउँछ । तारा चिन्हले हाम्रो मूल उद्देश्यतर्फ संकेत गर्छ । यसमा समानता नैं छ । यूवा संघको झण्डामा रहेको नीलो रंगले शान्ति र समृद्धिको संकेत गर्छ । आजको सन्दर्भमा दुबै संगठनले अबको गन्तव्य शान्ति र समृद्धिको स्थापना भएको स्वीकारेको विषय हो । यसर्थ, हाम्रो नीलो रंग र वाईसीएलको मशाल बाहेक झण्डामा भिन्नता छैन । झण्डामा विमति हुन्छ जस्तो मलाई लाग्दैन । त्यस्तै, एकीकृत विधानको निर्माणका लागि यूवा संघका महासचिव नरेश शाहीको नेतृत्वमा वाईसीएलका महासचिव सहित यूवा संघबाट थप दुईजना र वाईसीएलबाट एक जना सचिव गरि पाँच सदस्यीय कार्यदल बनेको छ । एकताको दबावका कारण अहिले हतारमा संक्रमणकालीन विधान बन्न सक्छ । महाधिवेशनमा जानुपूर्व दीर्घकालीन विधानको निर्माण हुन्छ ।
तपाई संगठनको नेतृत्व तहको जिम्मेवारीमा भएकाले अहिलेको यूवा आन्दोलनका कार्यभार केके हुन् जस्तो लाग्छ ?
–नेपाली यूवा आन्दोलनको विद्यमान कार्यभार भनेको वर्तमान संविधानको अक्षरसः कार्यान्वयनमा अहिलेको सरकारलाई रचनात्मक सहयोग गर्नु हो । पार्टी एकतालाई मूर्त रुप दिएर सरकारले थालेको समाजवादी यात्रामा आम नेपाली यूवाहरुलाई हिडाउनु यूवा संगठनको जिम्मेवारी हो । यो बाहेक यूवाहरुलाई नयाँ प्रविधिसँग साक्षात्कार गराउँदै सीपसँग जोड्ने र उक्त सीपलाई उनीहरुको जीविकोपार्जनको माध्यम बनाउने सवालमा हामी केन्द्रित रहनुपर्छ । हरेक यूवालाई सीप र दक्षता प्रदान गर्ने, लगानीतर्फ आकर्षित गरेर स्वरोजगार बनाउने र नयाँ रोजगारका क्षेत्रहरुको पहिचान गर्ने काम यूवा आन्दोलनको मुख्य कार्यभार बन्नुपर्छ । अनि मात्र हामीले भन्ने गरेको सुखी नेपाली समृद्ध नेपालको बाटोमा मुलुकलाई हिडाउन मद्दत पुग्छ ।
अन्त्यमा, एकता पछि बन्ने एकीकृत संगठनमा तपाईको भूमिका कस्तो रहन्छ ?
–वास्तवमा यो एकताले व्यक्तिगत रुपमा मलाई धेरै हर्षित बनाएको छ । यसकारण अहोरात्र खटेर पार्टीलाई एकतासम्म ल्याइपुर्याउने नेताहरुप्रति हृदयदेखि सम्मान गर्दछु । पार्टी एकताको पक्षपाती भएकै कारण गत चुनावमा बाँके जिल्लाको क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा ‘क’ मा पार्टीका तर्फबाट टिकटका लागि सिफारिश भएर पनि बाम गठबन्धनका तत्कालीन उम्मेदवारलाई पार्टी निर्णयका आधारमा निशंकोच समर्थन गरेर म पछि हटेको थिएँ । यूवा संघ सँगको १५ बर्षे यात्राका दौडानमा दुई कार्यकाल जिल्ला अध्यक्ष, एक कार्यकाल केन्द्रिय सदस्य, एक कार्यकाल सचिवालय सदस्य र हाल सचिवको रुपमा क्रियाशील छु । यस सँगसँगै एकता प्रक्रियाका सन्दर्भमा हाम्रो विधानले तोकेको १६–४० उमेर समूहको मापदण्ड र मेरो क्रियाशीलता बारे नेतृत्व र साथीहरुका बिचमा सुझबुझपूर्ण सल्लाह हुँदा एकीकृत संगठनको हाइ कमाण्डमै रहेर काम गर्ने अवसर आउन सक्छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०७५