काठमाडौं वानेश्वरस्थित के एण्ड के कलेज वीएएसडब्लु विषयको देशकै सबैभन्दा उत्कृष्ट कलेज मानिन्छ । २०५५ सालमा स्थापना भएको यस कलेजले हाल वीवीए, वीवीएस र वीए लेवलका विभिन्न विषयमा पढाइ सञ्चालन गरिरहेको छ भने एमए लेवलमा पनि व्यवस्थापन र मानवीकि संकाय कुशलताका साथ सञ्चालन गरिरहेको छ । प्रस्तुत छ– विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको के एण्ड के कलेजका सल्लाहकार एवम् प्राध्यापक श्री वि खड्कासँग आजको न्यूजका लागि नरेश न्यौपानेले गरेको कुराकानी :
तपाईहरुले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरु केकस्ता रहेका छन् ?
–हामीकहाँ हाल विद्यार्थीहरुका निम्ति +२ लेवलका व्यवस्थापन र मानवीकि संकायका विषयहरु सञ्चालनमा छन् भने स्नातक तहमा वीवीए, वीवीएस, वीएएसडब्लु र वीएको अध्यापन गराइरहेका छौं । स्नातकोत्तर तहमा चाहिँ ग्रामीण विकास (आरडी), जेण्डर स्टडिज, साइकोलोजी र एमवीएस सञ्चालित छन् । यस वर्षदेखि +२ लेवलमा विज्ञान संकाय सञ्चालनमा ल्याउँदैछौं । प्रयोगात्मक एवम् अभ्यासमा आधारित व्यवहारिक शिक्षामा जोड दिइने भएकाले हामीकहाँ अध्ययन गर्ने विद्यार्थी तथा तिनका अभिभावकहरु हामीले निकै सन्तुष्ट पनि पाएका छौं ।
अहिले चलिरहेको नयाँ पाठ्यक्रमको बहस तपाईलाई कस्तो लागिरहेको छ ?
–हाम्रो शिक्षा पद्धतिमा परिमार्जनको खाँचो छ । अझ म त अनिवार्य नैं छ भन्छु । हाम्रो शिक्षा हाम्रा स्रोतहरुको प्रयोगमा आधारित हुनुपर्छ । आजको जमानामा पनि हामी के कति स्रोतहरुमा सम्पन्न छौं भन्ने कुरा हाम्रो शिक्षाले पहिचान नैं गर्न नसक्नु विडम्वनाको विषय बनेको छ । हामीले अध्ययन गरेको शिक्षाले हाम्रो गाउँको कृषि, जडिबुटी एवम् अन्य व्यवसाय वा स्रोतहरु र तिनको व्यवहारिक प्रयोगबारे केही सिकाउदैन भने त्यस्तो शिक्षाको अर्थ पनि हुदैन । समृद्धिको बाटोमा हिड्यो भनिएको छ तर समृद्धिको पहिलो र मुख्य आधार शिक्षा व्यवहारिक छैन । यसकारण शिक्षा क्षेत्रका सरोकारवालाहरुको समन्वय, छलफल र निष्कर्षका आधारमा ठिक समयमा पाठ्यक्रमबारे बहस चल्नुपर्ने हो । तर रातारात केही मान्छेहरु मात्र बसेर हतारमा बनाइने पाठ्यक्रम न व्यवहारिक हुन्छ न त वैज्ञानिक । अचानक बहसमा ल्याउने अनि फटाफट नयाँ पाठ्यक्रम बनाउनाले व्यवहारिक र जीवनोपयोगी शिक्षाको कल्पना नैं गर्न सकिदैन । त्रिविले अचानक सुरु गरेको सेमेष्टर प्रणालीको विजोगले पनि यो पुष्टि गरेको छ ।
शिक्षालाई व्यवहारिक बनाउने उपाय के हुन सक्ला ?
–मेरो विचारमा शिक्षालाई व्यवहारिक मात्रै होइन, जीवनोपयोगी बनाउने एउटै उपाय भनेको जीवन्त अभ्यासमा जोड दिनु नै हो । हाम्रो आफ्नै घरमा बारी प्रशस्त हुन्छ तर हामी विषादी मिसिएको बजारको तरकारी खाने गर्छाैं । यो ठाउँमा हामीलाई हाम्रो विद्यमान अव्यवहारिक शिक्षाले उभ्याएको प्रष्ट छ । हामी हाम्रो दैनिक जीवनमा उपभोग गर्ने अन्न, अण्डा, मासु र तरकारीजस्ता सामानहरु विदेशबाट आएको किनेर खान तयार हुन्छौं तर कृषि, कुखुरापालन, गाईपालन, तरकारी खेती आफै सुरु गरौं र अर्गानिक खाऔं कहिल्यै सोच्दैनौं । यस्तो हामीलाई पुरानो शिक्षा पद्धतिले बनायो । अझ हामीकहाँ त पढेको यूवाले गाउँतिर काम गर्न लाज मान्ने प्रवृत्ति छ । त्यसकारण दैनिक जीवनमा अनिवार्य जोडिने स्रोतहरुबारे सम्बन्धित प्रत्यक्ष अभ्यासमा आधारित शिक्षा आजको आवश्यकता हो ।
तपाईको विचारमा नीजि र सरकारी शिक्षाबिचको असमानता कसरी अन्त्य गर्न सकिएला ?
–स्कूल तहको सम्पूर्ण शिक्षा सरकारीकरण गरेर निःशूल्क गर्ने र त्यसभन्दा माथि विद्यार्थीले इच्छाएको विषय पढ्न नीजि वा सरकारी जुनसुकै रोज्न पाउने व्यवस्था गर्ने हो भने मेरो विचारमा शिक्षामा देखिएको असमानता हटेर जान्छ । नीजि शिक्षाप्रति पनि सरकारले आफ्नो दायित्व अनुभूति गर्नुपर्यो । अहिले संघीयता कार्यान्वयनको चरणमा भएकाले यही अवसरमा प्रदेशको प्राथमिकता र त्यहाँ उपलब्ध स्रोतहरुका आधारमा व्यवहारिक र समान शिक्षाको थालनी गर्न पनि सकिन्छ । उदाहरणका लागि ५ नं. प्रदेशले वौद्ध शिक्षा सुरु गर्ने निर्णय गरेको सुनिएको छ । शिक्षालाई समान बनाउन हाम्रा स्रोतहरुको उपयोगले सहयोग गर्न सक्छ ।
अन्त्यमा, तपाईको व्यक्तिगत शिक्षण अनुभव सुनाइदिनुस् न ।
–मेरो शिक्षण जीवन एकदमै सुखदायी छ । मेरो १३ वर्षको यस क्षेत्रको क्रियाशीलताले मलाई ज्ञानको विस्तारका हिसाबले धेरै ठूलो सहयोग गरेको छ । हामीले बाटो मात्र देखाइदिएका कयौं विद्यार्थीहरुले आफ्नो भविष्य सुन्दर बनाएको देख्दा वास्तवमै आनन्द आउँछ । मैले पढाएको विद्यार्थी स्वयम् आफैमा दक्ष मात्र होइन कि परिवार र समाजप्रति जिम्मेवार बनिदिए पुग्छ जस्तो लाग्छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५