काठमाडौं । देशका १० वटा कम्युनिस्ट घटकहरू एकताबद्ध हुँदै नयाँ राजनीतिक दल ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन भएको छ। राजधानीको भृकुटीमण्डपमा आयोजित भव्य समारोहका बीच एकता घोषणा गरिएको हो।
कार्यक्रममा पार्टीका नेता देव गुरुङले नवगठित दलको २३ बुँदे घोषणापत्र सार्वजनिक गरे। यस घोषणापत्रमा राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्ध अर्थतन्त्र निर्माणका प्राथमिकता समावेश गरिएको बताइएको छ।
पार्टीको संयोजकका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकका रूपमा माधवकुमार नेपाललाई तोक्ने प्रस्ताव नेता महेन्द्रराय यादवले पेश गरेका थिए, जसलाई सभाबाट सर्वसम्मत पारित गरिएको छ।
यस एकतासँगै माओवादी केन्द्र, नेकपा (एस) लगायतका विभिन्न वाम घटकहरू एउटै राजनीतिक छातामुनि आएको जनाइएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०८२